बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति उत्तिकै शुन्य रहेको छ । उक्त वडामा रहेको जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु वैशाख महिनामा एक दिन पनि हाजिर भएकी छैनन् । चैत महिनामा त जयमती दुई दिन र रामजी एक दिन मात्रै हाजिर भएको प्रधानाध्यापक इब्राइम खानले बताए ।
मदरसामा नआए पनि दुबै जनाले गाउँपालिकाको राहतको तलब खाइरहेको प्रधानाध्यापक खानको भनाई छ । प्रधानाध्यापक खानका अनुसार उहाँरुलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको हाजिरी रेर्कडबाट प्रष्ट बुझ्न सकिन्छ । प्रधानाध्यापक खानले भने,‘उहाँहरुलाई हामीले धेरै पटक फोन गरेका छौं । गाउँपालिकामा पनि निवेदन दिएका छौं तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन,’ खानले भने,‘ तर तलब भने उहाँहरुले खाईरहनु भएको छ ।’
सोही गाउँपालिकाको वडा नम्बर ५ जमुनहामा रहेको मदरसा गौसुलवरा जामियाका शिक्षकहरुको पनि वैशाख महिनामा हाजिरी गरेको देखिदैन । मदरसामा भेटिएका एक दुई शिक्षकहरुसंग विद्यार्थीको बारेमा सोध्दा उहाँहरुले आफ्नो विद्यालयमा कति विद्यार्थी पढ्छन् भन्ने जवाफ दिनै सकेनन् । एक शिक्षकको भनाई अनुसार उक्त मदरसामा प्रअ मन लाग्दा मदरसा आउने गरेको बुझिएको छ । वडा नम्बर ४, जमुनाहाको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि प्रध्यानाध्यपक स्कूल समयमा प्राय भेटिदैनन् । कुनै कक्षा कोठामा पनि शिक्षकको उपस्थिति हुँदैन ।
३ जना शिक्षक र शिक्षिकाले त एकैपटक आफुहरु आएको र गएको हाजिरी गरेको समेत भेटियो । केही कक्षामा विद्यार्थीको पनि हाजिरी नगरेको पाइयो । धेरैजसो शिक्षकले हप्ता दिनदेखि हाजिरी नै नगरेको पनि भेटिएको थियो । नगरैनापुर गाउँपालिकाकाको शिक्षा अनुगमन तथा छानबिन समितिका संयोजक कृष्णचन्द्र मौर्यसहितको टोलीले विद्यालयको छड्के अनुगमनका क्रममा विद्यालयमा यस्तो बेथिति भेटिएको हो । गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका मौर्यले अनुगमनका क्रममा सबै विद्यालय तथा मदरसामा केही न केही त्रुटी र समस्या देखिएको बताए ।
‘पहिलो पटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौं । त्यसैले सबै विद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ,’ मौर्यले भन्नुभयो,‘ अर्कोपटक फेरि अनुमगनमा जानेछौं । यस्तै समस्या देखियो भने कारबाही गर्नेछौं ।’ नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई आसन्न शैक्षिक शत्रदेखि खारेज गर्ने बताउनु भयो ।
नरैनापुरमा सामुदायिक विद्यालय भन्दा मदरसाको संख्या धेरै छ । गाउँपालिकामा ३० मदरसा र २१ सामुदायिक विद्यालय छन् ।






