काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढेको छ । अधिकांश एमाले नेता कार्यकर्ताले रायमाझीले गल्ती नगरेको भए नभाग्ने निष्कर्ष समेत निकालेका छन् ।
उनीहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेता रायमाझीले अदालत वा प्रशासनमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा उल्टै ‘गायब’ भएर समस्यालाई रहस्यमय बनाउने प्रयास गरेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन् ।
एमाले केन्द्रीय सदस्य नीरज आचार्यले स्टण्टवाजिका लागी मात्र राजनीति नगर्न राजनीतिक दल र नेताहरूलाई आग्रह गर्दै दोषीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसमक्ष माग समेत गरेका छन् ।
‘निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीका लागी नक्कली भुटानी शरणार्थी प्रकरण, माओवादी लडाकु शिविरको भ्रष्टाचार, वाईडबडी जहाज खरिद प्रकरण लगायत दर्जनौँ भ्रष्टाचारका फाइल खोल्नु पर्छ खोलिनु पर्छ’, आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन् ।‘ छानबिनको विषय राज्य सत्ता÷ संवैधानिक निकाय÷ प्रशासनिक संयन्त्रको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साध्ने हतियार बनाउने हैन ।
यसमा नाम जोडिएका नेताहरू कुनै किन्तु परन्तु नगरीकन न्यायालयमा हाजिर भएर आफ्नो जवाफ दिनु पर्दछ ।’ साथै उनले दलहरूले त्यस्ता प्रकरणमा जोडिएकाहरूलाई पदबाट निलम्बन गर्नुपर्ने समेत जनाएका छन् ।
‘निजहरूलाई पदबाट निलम्बन गरी छानबिनका लागि सहयोग गर्नुपर्दछ । नेकपा एमालेले आफ्नो पार्टीका जुन कुनै तहका नेता हुन् पदबाट निलम्बन गरी छानबिनका लागी सहयोग गर्नै पर्छ’,केन्द्रीय सदस्य आचार्यले लेखेका छन् ।
उनले अनुसन्धानका क्रममा बयान साट्ने र दोषी उम्काउने कुनै पनि हर्कत नेपाली जनता र नेकपा एमालेका लागी सैह्य नहुने बताएका छन् । ‘कुनै पनि बहानावाजिमा अनुसन्धानको काम नरोकियोस् प्रचण्ड सरकारको यसमा ध्यान जाओस्’, आचार्यको भनाइ छ ।






