काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी भ्रष्टहरूलाई कारबाही गर्ने बताएकाहुन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छिट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताए । अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले बहिर्गमित लडाकुहरूलाई दुई लाख रुपैयाँका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहोर्याए । अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसलाअनुसार आफूले लडाकुहरूलाई राहत दिन लागे पनि स्याल हुइँय्या मच्याउन खोजिएको उनको भनाइ थियो । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुङ्गुरमा फालिएकाहरू फेरि बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने,‘सबैभन्दा भ्रष्ट तत्त्वहरू भ्रष्टाचारको विरुद्ध बोलेको देख्दा अनौठो लाग्छ । हामीले चुनावी घोषणापत्रमा एउटा आयोग बनाएर २०४८ सालयताका सबै भ्रष्टहरूको छानबिन सुरु गर्नेछौँ भनेर भनेका छौं । छिट्टै त्यो आयोग बनाउनेतिर मेरो पहलकदमी हुनेछ । भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दाबीसमेत गरे ।
उनले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखी बनाउन आफूले विशेष ध्यान दिएको पनि बताए । उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उनले त्यसका लागि आफू लडिराखेको उल्लेख गरे ।






