बाँके । बाँकेका आठओटा स्थानीय तहमा गत वर्षको तुलनामा बेरुजु बढेको छ । स्थानीय तहको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बढेको पाइएको हो । यो वर्ष आठओटा स्थानीय तहको बेरुजु बढेर झन्डै ७० करोड पुगेको छ । महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८,०७९ को ६० औं लेखापरीक्षण प्रतिवेदनमा बाँकेका ८ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख रहेको हो ।
महालेखाले आ.व. २०७८,०७९ मा बाँकेका आठ स्थानीय तहको १६ अर्ब १३ करोड ५७ लाख बढीको लेखापरीक्षण गरेको थियो । आ.व. २०७७,०७८ को लेखा परीक्षण गर्दा बेरुजु रकम ४५ करोड ४० लाख थियो । आ.व. २०७७,०७८ भन्दा आ.व. २०७८,०७९ मा २५ करोड बेरुजु थप भएको हो ।
आ.व. २०७८,०७९ को महालेखाको प्रतिवेदन अनुसार, कुल लेखापरीक्षण रकममध्ये खजुरा गाउँपालिकाको २.४७ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको ५.३१ प्रतिशत, नरैनापुर गाउँपालिकाको २.७१ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको ५.२ प्रतिशत, कोहलपुर नगरपालिकाको ६.२४ प्रतिशत, डुडुवा गाउँपालिकाको २.४५ प्रतिशत, जानकी गाउँपालिकाको २.९२ प्रतिशत र बैजनाथ गाउँपालिकाको ४.३२ प्रतिशत बेरुजु रहेको छ ।
आ.व. आ.व. २०७७÷०७८ भन्दा खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिको बेरुजु झिनो प्रतिशतले घटेको छ । नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत ह्वात्तै बढेको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । आ.व. २०७७÷०७८ को लेखापरीक्षणमा लेखापरीक्षण रकम मध्ये जानकी गाउापालिकाको बेरुजु ६.२०,
नेपालगन्ज उपमहानगरपालिकाको १.२५, राप्तीसोनारी गाउँपालिकाको ३.६९, कोहलपुर नगरपालिकाको ३.७१, खजुरा गाउँपालिकाको २.८१, डुडुवा गाउँपालिकाको ४.३७, बैजनाथ गाउँपालिकाको २.९५ र नरैनापुर गाउँपालिकाको १.८५ प्रतिशत बेरुजु रहेको थियो ।






