काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।
कुराकानीमा श्रेष्ठले भन्नुभएको छ, ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’ सांसद श्रेष्ठले मन्त्री बनेबापत पार्टीले पैसा मागेको उल्लेख गरे पनि कसले मागेको भनेर खुलाउनुभएको छैन ।
व्यवसायी प्रसाईंले यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भनेर सोध्दा सांसद ढाकाकुमार श्रेष्ठले भन्नुभएको छ, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’
फोन वार्तामा दुर्गा प्रसाईंले मन्त्री बनेपछि आफूलाई सहयोग गर्नुपर्ने र आफ्नो काम गरिदिनुपर्ने सर्त सांसद श्रेष्ठसँग राखेको सुनिन्छ । ‘यो दुई करोडको ग्यारेन्टी मैले गरिदिन्छु, तपाईँ पिर नगर्नुस्, तपाईँले दुई करोड पाउनुहुन्छ, तर तोशिमा कार्कीले तपाईँसँग लडाइँ त गर्दिनन् नि’, प्रसाईंले भन्नुभएको छ ।
आफ्ना सांसदले दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै यो विषयमा छानबिन गर्ने भएको छ ।
यस्तो छ कुरकानी……
दुर्गा प्रसाईंः नमस्ते के छ हालखबर ?
ढाकाकुमार श्रेष्ठः ठीक छ सर । म भरखर भरखर उठेको ।
दुर्गा प्रसाईः ए ए….राति मेरो पनि फोन अफ गरेँ । फोन अफ भनेको मोबाइल चार्जमा राखेर सुतेँ । अनि नि । अब खास चाहिँ कुरा के हो ? मलाई अलिकति भन्नुस् त डक्टर साप ।
ढाकाकुमार श्रेष्ठः स्वास्थ्य हामीले पाउने भयो । पार्टीले सहयोग गर भन्यो । कोर टीम छ दुई–तीन जनाको । उनीहरूले भनिरहेका छन् । मलाई साढे दुई जति चाहियो भन्दै थिए हिजो । मेरो पक्का चाहिँ पक्का भयो । आज मैले फिक्स गर्नु छ के दाइ, सर ।
दुर्गा प्रसाईंः ए ए……
ढाकाकुमार श्रेष्ठः म आर्थिक रूपमा त्यस्तो छैन । मन्त्री पनि बन्नुपर्यो अब । धोइ पखाली गरी स्वास्थ्य क्षेत्र सफा गर्नु छ । मैले धेरै गर्छु भनेर सोच गरेको छु ।
दुर्गा प्रसाईंः हजुर
ढाकाकुमार श्रेष्ठः त्यसमा हजुरहरूको सहयोग सपोर्ट गर्नुपर्यो भन्ने कुरा पनि हो क्या सरलाई ।
दुर्गा प्रसाईंः मैले तपाईलाई एउटा कुरा बुझ्न खोजेको । डक्टरपास मैले त राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर तोसिमा कार्की मात्र छिन भनेर मात्र बुझेको थिएँ त ।
ढाकाकुमार श्रेष्ठः होइन । हामी तीन जना छौँ, सर तीन जना ।
दुर्गा प्रसाईंः को को हुनुहुन्छ ?
ढाकाकुमार श्रेष्ठः म भएँ । तोसिमा भयो । अनि चन्दा कार्की ।
दुर्गा प्रसाईंः ए ए…. साँची चन्दा म्याम पनि हुनुहन्छ त है ।
ढाकाकुमार श्रेष्ठः चन्दा हजुरले पनि चिन्नु हुन्छ होला ।
दुर्गा प्रसाईंः डक्टरपासको घर चाहिँ कहाँ हो ?
ढाकाकुमार श्रेष्ठः मेरो पोखरा हो सर ।
दुर्गा प्रसाईंः ए ए….. । अनि तपाईले एमबीबीएस कहाँ गरेको तपाईले ?
ढाकाकुमार श्रेष्ठ? मैले चाइनामा ।
दुर्गा प्रसाईंः ए ए…..एमडी
ढाकाकुमार श्रेष्ठः एमडी अहिले मैले गरेको छैन । एमएस मात्र हो ।
दुर्गा प्रसाईः ए…..एमएस चाहिँ ।
ढाकाकुमार श्रेष्ठः पढ्ने भन्दा भन्दै पोलिटिक्सतिर लागेँ म ।
दुर्गा प्रसाईंः हेर्नुस है । यो स्वास्थ्यमा धेरै ठूलो समस्या छ हैन डाक्टर साप । अब देशमा भएका नर्सिङ कलेज बन्द भए । आज नर्स बढ्न पाउँदैनन् । मैले जहिले भनेको छु । दुबईका डान्सबारमा हाम्रा चेलिहरु गर्नु पठाउनु भन्दा नर्स पठाउँ । हो कि होइन ?
ढाकाकुमार श्रेष्ठः होन् त हो नि ।
दुर्गा प्रसाईः डक्टर उत्पादन गरौं । बरु सय वटा मेडिकल कलेन खोलौं । हो कि होइन भन्नु त ? विदेशबाट, इनडियाबाट विद्यार्थी ल्याऊ, तीन सय– चार सय पढाऊ । हस्पिटल फिरी गरौं । कति राम्रो कुरा गरेको मैले ।
ढाकाकुमार श्रेष्ठः हो नि ।
दुर्गा प्रसाईंः डाक्टरसाप । हजुरको नाम ढक बहादुर के हो ?
ढाकाकुमार श्रेष्ठः ढाकाकुमार श्रेष्ठ ।
दुर्गा प्रसाईंः ए ढाकाकुमार श्रेष्ठ । आच्छा । मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अघि बढौला । अनि फेरि तपाईसँग एउटा कुरा भन्न खोजेको । मुकुलले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।
ढाकाकुमार श्रेष्ठः स्वास्थ्य, शिक्षा । मुकुलजीलाई त्यति थाहा छैन । आन्तरिक कुरा हो । मुकुल पनि त्यो कोर टीममा हुनुहुन्न । बाहिर उहाँ महामन्त्री नै हो । अब हजुरलाई साँचो कुरा गर्दा त्यहाँ दुई तीन जना छुट्टै हुनुहुन्छ के । पार्टीलाई धेरै सहयोग गर्ने, सुरुदेखि नै सहयोग गर्ने, रवि सरलाई सहयोग गर्ने, त्यो टीमबाट मलाई कुरा आएको हो । अब आज मैले फिक्स गर्नुपर्छ पैसा । उदारो हुन्न भन्छन् फेरि ।
दुर्गा प्रसाईंः क्यास पैसा चाहिन्छ । क्यास दुई करोड ।
ढाकाकुमार श्रेष्ठः अँ दुई । साढे दुई भनेको छ । मैले अहिले एक दिएँ भने पनि मान्छन् होला । चेक दिए पनि मान्छन् ।
दुर्गा प्रसाईंः आज बन्द छ । सुन्नुस् कुरा । फेरि बैंकमा ९ लाख ९९ सय हजार भन्दामाथिको चेक साँटिँदैन । सुन्नस् कुरो । क्लिएर कुरा ।
ढाकाकुमार श्रेष्ठः त्यही त ।
दुर्गा प्रसाईंः अब एउटा टाइम राखेर गर्ने हो भने म दिन्छु । म सहयोग गर्छु तपाईले भनिहाल्नु भयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईले ।
ढाकाकुमार श्रेष्ठः त्यो त मैले गर्छु । मलाई त यो गोविन्द केसी देखेर दिक्क लागेको छ । कुन दिन मर्ला जस्तो लाग्छ । म देशमा एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो ।
दुर्गा प्रसाईंः मैले मेरो छोरीलाई एमडी पढ्न जापान पठाउनुपर्यो । तीन करोड लाग्यो एमडी गर्नका लागि ।
ढाकाकुमार श्रेष्ठः त्यही त । यो सबै बेथिती छ ।
दुर्गा प्रसाईंः म त मरेको छु । मेरो मेडिकल कलेज हेर्नु त रु सबै भौतिक पूर्वाधार पुगेको काठमाडौंबाहिर मेचीमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नु त म त मर्नमात्र बाँकी छु ।
ढाकाकुमार श्रेष्ठः त्यही त यसलाई हटाउनु पर्छ । यो पनि समस्या समाधान गर्नुपर्छ ।
दुर्गा प्रसाईंः शिक्षा कसले लिन्छ भाइ रु
ढाकाकुमार श्रेष्ठः यहाँ फोन आएको रहेछ । हजुर सर ।
दुर्गा प्रसाईंः शिक्षा कसले लिने भयो डाक्टर साप रु शिक्षा हामीलाई परेन जस्तो छ सर । शिक्षा हजुरबुबाले राख्यो होला । योपालि मलाई पनि एफिलेसन दिनुपर्ने छ हजुरबुबाले । काठमाडौँ युनिभर्सिटीले तपाईंका एफिलेसन दिएको छ । सिटमात्र दिएको छैन । त्यो गिरी नारायणकाजीको मान्छे हो । पैसा उठाएर नारायणकाजीलाई दिने मान्छे हो । ल यसो गर्नुहोस् न त ।
ढाकाकुमार श्रेष्ठः हजुर निश्चिन्त हुनुहोस् । मिलेर काम गर्नुपर्छ । तपाईं र म ।
दुर्गा प्रसाईंः एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौँ आउँछु । तपाईं र म भेटौँला । म गर्छु के । तपाईंले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक९भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।
ढाकाकुमार श्रेष्ठः त्यही त समस्या छ त ।
दुर्गा प्रसाईंः हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।
ढाकाकुमार श्रेष्ठः तपाईंलाई पनि गाह्रो छ । विचरा ।
दुर्गा प्रसाईंः गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।
ढाकाकुमार श्रेष्ठः बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।
दुर्गा प्रसाईंः बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले दुई करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि९पर्सि रविलाई त दिने होला र ?
ढाकाकुमार श्रेष्ठः अँ, मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नु भएको छैन । बाहिरका दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।
दुर्गा प्रसाईंः यी सबै कमाउने त हुन भाइ ।
ढाकाकुमार श्रेष्ठः पार्टीमा जान्छ कि जाँदैन मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।
दुर्गा प्रसाईंः ल सर ठीकै छ । म एक–दुई दिनमा आउँछु । दाजुभाइ भेटौँला नि । म दिन्छु भनेर ग्यारेन्टी गर्नुहोस् । मलाई अलिकति टाइम चाहियो भन्नुहोस् ।
ढाकाकुमार श्रेष्ठः म त्यही कुरा गर्छु । हजुर भोलि आउनु हुन्छ ?
दुर्गा प्रसाईंः हजुरबुबा (केपी ओली) आउने भएर बसेको हुँ । भोलि आउँछु । है डाक्टर साप ।
ढाकाकुमार श्रेष्ठः हस् हस् ।
दुर्गा प्रसाईंः हस । तपाईंलाई मैले दुई करोड दिन्छु । तपाईंलाई सजिलो बाटो देखाइदिन्छु । (अडियो सहित)






