गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनु पर्ने बताएका छन् । उनले आफुलाई उक्त कुराको हेक्का रहेको पनि बताएका छन् । गोरखा भ्रमणका क्रममा आज आइतबार गोरखा सङ्ग्रहालयमा संक्षिप्त सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकसँग जोडिने र पिरमर्का बुझ्ने विषयमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले कुनै पनि व्यक्तिको आउजाउलाई ‘सवारी’ भन्ने शब्द प्रयोग नगर्न पनि सुझाव दिए । विशिष्ट व्यक्ति आउजाउ गर्दा सवारी भयो भन्दाखेरी सामन्तवादी शैलीजस्तो देखिने र ठेट नेपाली शब्द पनि नभएकाले बरु आवागमन भन्न पनि राष्ट्रपति पौडेलले सुझाव दिए । पछिल्लो समय उहाँले आफ्नो भ्रमणका बेला अरू गाडी र नागरिकको आवागमन नरोक्न निर्देशन दिँदै आएका छन् ।
यसैबीच राष्ट्रपति पौडेलले बुढीगण्डकी आयोजना, पालुङटार विमानस्थल निर्माण र मनास्लु पदमार्ग राम्रोसँग सञ्चालन गर्न सकेमा गोरखाको मुहार फेरिने पनि उल्लेख गरे । राष्ट्रपति भएपछि पहिलो पटक काठमाण्डौबाहिरको भ्रमण गरेका पौडेलले पत्नीका साथमा गोरखकाली र गोरखनाथ मन्दिरमा झन्डै आधा घण्टा पूजाआजा गरेका थिए ।






