काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो वैशाख १० गते हुन लागेको उपचुनावमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनले भने,‘तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनविना उम्मेदवारी दिने निर्णय भएको छ ।’ बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२ मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएका हुन् । योपनि राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ ।
सो पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेकँ सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका हुन् । सरकारलाई विश्वासको मत दिइसकेकाले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने उनको भनाई छ । ‘हामी सरकारमा जानेरनजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं । पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्छौँ,’
ढकालले भने, ‘पुस १० गतेको सहमति बमोजिम (गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री) हुनुपर्ने छ । साझा न्युनतम कार्यक्रममा हामीले भने बमोजिम विषयवस्तु समेट्नुपर्यो ।’ बैठकमा भने प्रधानमन्त्री प्रचण्डबाट बोलावट नभएकाले सहभागी नभएको ढकालले बताए ।






