काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कारण सत्तारूढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै उहाँले राष्ट्रपति चुनावपछि मात्रै देशको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुङ्गो लाग्नेसमेत बताए ।
आइतबार काठमाण्डौको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सबै पद आफैँले लिएर देशमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति चुनावपछि मात्रै भन्न सकिने बताउनुभयो । त्यसका लागि अब एक हप्तामात्रै पर्खे पुग्ने उनको भनाइ थियो ।
उनले भने,‘कुन दिन त्यो गठबन्धन भत्किने हो ठेगान छैन । गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर चिन्ता सुरु भइसकेको छ । त्यसो हुनाले देशको राजनीतिले कुन कोर्स लिने हो भन्ने कुरा राष्ट्रपतिको चुनावबाट थाहा भइ हाल्छ । अब सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हाबी हुने हो कि सन्तुलनको राजनीति अपनाएर जाने भन्ने मान्यता हाबी हुने भन्ने कुरा हप्ता दिनभित्र टुङ्गो लागि सक्छ ।’
अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै देशमा फेरि मण्डलेहरू जाग्न लागेको प्रतिक्रिया दिए । उनले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिस्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्कसमेत गरे । अध्यक्ष नेपालले नेपालको भरपर्दो राजनीतिक पार्टीको रूपमा एकीकृत समाजबादीलाई स्थापित गराउने गरी पार्टीको काममा लाग्न पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिए ।






