बाँके, नेपालगन्ज । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष भवानी राणाले महिलाहरुको हातहातमा उत्कृष्ट सिप भएको तर त्यो सीपले बजार भाउ नपाएको बताईन् । बुधबार नेपालगञ्जमा महिला उद्यमी संघ (वीन) बाँकेले आयोजना गरेको महिला उद्यमीद्धारा उत्पादित वस्तुहरुको प्रर्वद्धन र बजारीकरणका लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीका विषयमा पत्रकारहरुसंगको भेटघाटमा अध्यक्ष राणाले त्यति भरपुरा मात्रामा महिलाहरुको हातमा सीप हुँदाहुँदै पनि महिला उद्यमीहरु आर्थिक रुपमा शसक्त हुन नसकेको बताएकी हुन् । उनले महिलाहरुसंग उक्त सीपलाई उजागर गर्न आवश्यक रहेको बताईन्् ।
पुर्व अध्यक्ष राणाको भनाई अनुसार १९ बर्षको दौरान यता राज्यले पनि फड्को मारेको छ । राज्यले उद्यमशीलताको विषयमा फड्को मारेको हुनाले महिला उद्यमीको मेहनतलाई शसक्त बनाउन प्रचारप्रसार तथा यस्तै प्रर्दशनीको खाँचो रहेको उनको भनाई थियो । महिला उद्यमीलाई अझ राज्यले प्रोत्साहन गर्न विभिन्न खाले कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको उनले बताईन् । महिला उद्यमीहरुले उत्पादन गरेको बस्तुलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरिय प्रर्दशनी २०७९ हुने भएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा यही फागुन ५ गतेदेखि ९ गतेसम्म उक्त प्रदर्शनी गर्न लागिएको हो । स्थानिय उत्पादनलाई बढावा दिने तथा व्यवसायीलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ ४ दिने प्रर्दशनी गर्न लागिएको लुम्बीनी प्रदेश स्तरिय प्रदर्शनीका संयोजक सावित्रा बस्नेतले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको अयोजना गरि जानकारी गराएकी थिईन् ।
व्यवसायीलाई प्रवद्र्धन र प्रचारप्रसारका लागि महिला उद्यमीले नेपालगन्जमा हरेक बर्ष प्रर्दशनी गर्दै आएको छ । यस बर्ष पनि महिला उद्यमी संघले नेपालगन्जको बागेश्वरी मन्दिरमा रहेको चिल्ड्रेन पार्कमा ४ दिने प्रर्दशनी संचालन गर्न लागेको हो । प्रर्दशनीमा बाँके जिल्ला सहित पाल्पा, दाङ, बर्दिया, रुकुम, रुपन्देही, कपिलवस्तु, सुर्खेत, रोल्पा र प्युठानका महिला उद्यमीले उत्पादन गरेको बस्तुहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
स्थानिय महिला उद्यमीहरुले उत्पादन गरेको छालाका जुत्ता, पाल्पाली ढाका टोपी, सालका पात, थाकलको हात्ते व्याग, महिला सहकारीद्धारा उत्पादीत वेसार, लसुन र टिमुरको अचार लगायत स्थानिय उत्पादनको प्रदर्शनी गरिने संयोजक बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराईन् । सिप भएका महिलाहरुको बजारीकरण गर्ने उद्देश्यका साथ संचालन गरिन लागेको प्रदर्शनीमा व्यवसायी विच अन्तरक्रिया समेतको आयोजना गरिने संयोजक बस्नेतको भनाई थियो ।
४ दिने प्रर्दशनीमा ६० वटा स्टल रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा उत्कृष्ट ३ जना महिला उद्यमीलाई सम्मान समेत गरिने कार्यक्रम तय भएको महिला उद्यमी संघ नेपालका अध्यक्ष निरुपमा रस्तोगीले बताईन् । चार दिनसम्म संचालन हुने प्रर्दशनीमा महिला उद्यमीहरुको पहुँच र आत्मनिर्भरता आवश्यक भएको हुनाले यसबारे पनि अन्तरक्रिया कार्यक्रम गरि जानकारी गराउने संघका अध्यक्ष रस्तोगीले बताईन् । महिला उद्यमी संघ बाँकेमा ६२ जना महिला उद्यमीहरु आवद्ध रहेका छन् ।






