काठमाण्डौ । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरूलाई कानुन नलागेको टिप्पणी गरेका हुन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले नेपालमा कानुन लागेको भए अहिले आफूलाई भगवान् ठान्ने नेताहरू सबै जेलमा हुने बताए । उनले नेपालको कानुनले नेताहरूसमक्ष आत्मसमर्पण गरेको बताए ।
उनले भने,‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्यौँ । तर नेपालमा कानुनले काम गरेको भए हामीले मानेका धेरै नेताहरू जेलमा हुन्थे । नेपालमा कानुनले काम नै गरेन । आत्मसमर्पण गरे ।’
उनले आफूहरू लडेर ल्याएको प्रणालीमा सबै फूल फुल्न पाउने भन्दै विवेकशील साझा पार्टी लगायत वैकल्पिक शक्तिहरूले देशका लागि काम गर्न आवश्यक रहेको बताए । सांसद भण्डारीले युवा नेताहरू पार्टीमा नबोलेकोप्रति असन्तोष व्यक्त गरे । उनले युवाहरूले अहिले आफ्नो पार्टीमा भएको चुनौतीको समाधान गरी देश बनाउने सपना बनाउनुपर्ने बताए ।






