तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका(५ याम्पामा रहेको कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजो बिहीवार दिउँसो आगलागी भएको हो ।
आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मको ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएको छ । वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएको थियो ।
खोरमा रहेका बाख्रालाई बाहिर निकालिएको तर केही कुखुरा मरेका उनले जानकारी दिए । करिब दुई करोड रुपैयाँ लगानी रहेको फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएको कुलप्रसाद तिवारीले बताए ।
ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उज्यालो ।






