रुपनी जि.एम, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीले नेपालगञ्ज बजार व्यवस्थापनका लागि सानादेखि ठूला व्यापारीहरु नै चुनौतिका रुपमा रहेको बताएका छन् । हिमालय न्यूज हबसंग कुरा गर्ने क्रममा नगर प्रहरी प्रमुख बोगटीले व्यापारीहरु निकै अटेरी रहेको बताउँदै विशेष गरी नेपालगञ्जस्थित त्रिभुवन चोकका व्यापारी र ठेलामा सामान राखेर बेचबिखन गर्ने तरकारीदेखि फलफुलसम्मका व्यापारीहरु नै नेपालगञ्ज बजार व्यवस्थापन गर्नमा चुनौति रहेको बताएका हुन् ।
उनका अनुसार व्यापारीसंगै ई रिक्सा पनि बजार व्यवस्थापनका लागि अर्को एउटा चुनौति रहेको छ । नगरपालिकामा दर्ता भएका ई रिक्साको संख्या भन्दा झण्डै ३ गुणा बढी ई रिक्सा नेपालगञ्जमा सञ्चालित रहेको उनले बताए । ई रिक्सा चलाउनेमा धेरै जसो अपरिपक्क उमेरका नाबालगहरु रहेको उनले बताए । ‘नेपालगञ्जमा ई रिक्सा चालकहरु परिपक्क उमेरका भन्दा अपरिपक्क उमेरका नाबालगहरु नै प्राय रहेका छन् । उनीहरुले न ट्राफिक नियम पालना गर्दछन् न त विवेक पुर्यार नै बाटो काट्ने गर्दछन् ।’ त्यसरी बिन्दास भएर ई रिक्सा चलाउने उनीहरुको तरिकाले दुर्घटना हुन गयो भने जवाफदेही को हुने रु उनले प्रश्न गरे ।
वि।सं। २०७६ सालदेखि नगर प्रहरी प्रमुखका रुपमा नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत बोगटीको अनुभवमा पहिलाको तुलनामा अहिले नेपालगञ्जका साँधुरा बजार व्यवस्थापनमा धेरै फरक भएको छ । नेपालगञ्जको सबैभन्दा चलेको र प्रख्यात साँधुरो बजारको रुपमा चिनिएको त्रीवेणी मोड हुँदै एक्लैनी र त्रिभूवन चोकसम्मको बजार व्यवस्थापनमा पहिलाको तुलनामा आकाश र जमिनको फरक भएको उनले बताए । विशेष गरी एक्लैनीमा व्यापारीहरुले दुबैतिरबाट बाटोको बीच भागमा पर्ने गरी सामानहरु किनबेचका लागि राख्ने गर्दथे तर अहिले त्यस्तो नभएको उनले बताए । उनका अनुसार अहिले ती ठाउँमा सहजै आवात जावत गर्न सकिन्छ ।
लामो समयदेखि नगरप्रहरीको अनुभव बटुलेका बोगटीले पछिल्लो समयमा नगर प्रहरीद्धारा गरिने कारवाहीको पनि बेवास्ता गर्दै आफ्ना व्यापार चलाउन सडकको बीच भागलाई ओगट्दै पसल थापि रहेको बताए । ‘हामी नगरप्रहरीलाई देख्दा मात्रै सडकको बीच भागमा राखेका लत्ता कपडा लगाएतका अन्य सामानहरु भित्र सारे झैं गर्छन् तर हामी उक्त ठाउँबाट चेतावनी दिएर हिंड्ना साथ फेरी बाटोमा आफ्ना सिरक दस्ना ओसार्न शुरु गर्छन् ।’ उनले भने,‘पछिल्लो समय त्रिभुुवन चोकका व्यापारीहरु यतिसम्मको अटेरी भएका छन् कि हामी नगर प्रहरीहरु उनीहरुलाई सामान भित्र राख्न सल्लाह दिएर अघिअघि हिंड्छौ उनीहरु हाम्रा पछिपछि सामानलाई बाटोमा ओसार्न शुरु गरी हाल्छन् ।’
नगर प्रहरी प्रमुख बोगटीका अनुसार नेपालगञ्जका नगरप्रहरीहरु बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मात्रै कार्यरत रहन्छन् । यो समय भनेको दिनको समयम हो र नेपालगञ्जमा दिनमा भन्दापनि साँझमा बजार चल्ने गर्दछ । तर साँझ ७ बजेपछि उताको समयमा साना ठूला सबै व्यापारीहरु सडकमै देखिन्छन् । यस कारणले गर्दा जति कारवाही हुनु पर्ने हो त्यति हुन नसकेको नगर प्रहरी बोगटीको भनाई छ । उनका अनुसार कारवाहीका लागि जरीवानाको दर रेट सय देखि १५ सय सम्म मात्रै रहेको छ । त्योपनि एकदुई पटकको चेतावनीपछि मात्र नगद शुल्कको रसिद काटिने उनले बताए ।
उनले भने,‘नगरपालिकाले काट्ने शुल्क रकम थोरै भएको हनाले पनि हुन सक्छ यहाँका व्यापारी र ई रिक्सा चालकहरुमा नगरप्रहरी प्रति कुनै पनि प्रकारको भय देखिंदैन । साना व्यापारीहरुले सय रुपैयाँ त हो नि त्यति त तिरी हालिन्छ भन्ने र ठूला व्यापारीसंगै यातायातका साधानबाट १५ सय शुक्ल काट्दा यति त दिई हालिन्छ नि भनेर सहजै जरीवाना तिर्न तयार हुन्छन् ।’ उनले थपे,‘हामी घामपानी नभनेर समाटेर नगरपालिका ल्याउँछौं यहाँ ल्याउन नपाउँदै माथिको आदेश आउँछ प्रकृया पुर्याएर छोडिदेऊ भन्ने । जरीवाना तिर्छन् र आउने बित्तिकै समातिएकाहरु शानसंग आफ्ना सामान लिएर फर्कछन् ।’ जरीवाना रकम थोरै र माथिको आदेश पनि बजार व्यवस्थापनका लागि नगर प्रहरीलाई चुनौति रहेको बोगटीको भनाई छ ।










