काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा ल्याउने कोसिस भइरहेको बताएकी छिन् । मङ्गलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको उत्तर दिँदै मन्त्री शर्माले यस्तो बताएकी हुन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार सङ्कटमा नरहेको उनको भनाइ छ ।
उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले रास्वपालाई फेरि सरकारमा ल्याउन राजनीतिक ढङ्गबाट पहल गरिएको बताए । मन्त्री शर्माले भनिन्,‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको छ तर सरकारको समर्थन फिर्ता लिएको छैन । उहाँहरूले सरकार छोड्नुभयो, उहाँहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो ।
प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिकरूपमा पनि गठबन्धनलाई बचाउनका निम्ति र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनका निम्ति प्रयत्नशील छौँ भनेर बोलिरहनुभएको छ । त्यसका लागि पहल, प्रयत्न भइरहेको छ । सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार सङ्कटमा परेको छैन ।’
मन्त्री शर्माले किसानले तरकारी फालेर विरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको जानकारी दिईन् । उनले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा रहेको ुग्यापु लाई समाधान गर्नेबारेमा छलफल भएको बताईन् ।






