बाँके । बाँकेको नेपालगन्जमा होटल तथा क्यासिनोका एक ब्यवसायीले सरकारी, सार्वजनिक र व्यक्तिगत जमिनमा डोजर चलाएर दादागिरी देखाएका छन् । ‘होटल डायमण्ड प्यालेस’ का मालिक सुरेन्द्र बहादुर सिंहले अदालतको आदेशलाई उल्घंन गर्दै सरकारी, सार्वजनिक र व्यक्तिगत जमिनमा बिना नम्बर प्लेटको डोजर चलाएर दादागिरी देखाएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित उक्त होटल तथा क्यासिनो ब्यवसायी सिंहले अदालतको आदेश उल्घंन गर्दै जमिन हडपेको कुरा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
आफुले विगत १५ वर्षदेखि भोगचलन गर्दै आएको जमिनमा समेत बिना नम्बर प्लेटको डोजर चलाएर १० फुटको पर्खाल भत्काई दिएको गुनासो गर्दै ‘होटल डायमण्ड प्यालेस’ का मालिक तथा क्यासिनो ब्यवसायी सिंह विरुद्ध सुरेन्द्र कुमार श्रेष्ठले पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गरएका हुन् । सिंहले विगत केही समय अघिदेखि नै सरकारी र सार्वजनिक जमिनलाई हडप्दै आएको र अहिले व्यक्तिको नीजी जमिनमा समेत आँखा लगाएर दुःख दिइरहेको आरोप लगाएका छन् ।
वडा नम्बर २ को सुर्खेत रोडमा स्थित ‘होटल डायमण्ड प्यालेस’ प्रालि साबिकको (सिग्नेट ईन कृष्णा होटल) का सञ्चालक सुरेन्द्र बहादुर सिंहले सरकारी, सार्वजनिक जमिन हडपेर होटेल बनाएको र साँधीमा रहेको ब्यक्तिगत जमिन समेत हडप्न खोजेको भन्ने श्रेष्ठले आरोप लगाएका छन् । साविक सिग्नेट ईन कृष्णा होटल रहेको उक्त जग्गालाई होटल तथा क्यासिनो सञ्चालक सिंहले ब्यवसायी दिपेन्द्र अग्रवालसँग केही समयअघि खरिद गरेका थिए ।
होटल सञ्चालकले आफ्नो जमिन हड्प्न खोजेपछि श्रेष्ठले ‘निषेधाज्ञा’ माग गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट दायर गरेका थिए । अदालतले विपक्षी सिंह विरुद्ध यही माघ २० गते अन्तरिम आदेश जारी गरिसकेको छ । तर, होटल तथा क्यासिनो ब्यवसायी सिंहले अदालतको अन्तरिम आदेशलाई अटेरी गर्दै सोही दिन आफ्नो पर्खाल लगायत भौतिक संरचनामाथी डोजर चलाएको श्रेष्ठले आरोप लगाएका छन् ।
होटल तथा क्यासिनोका महेन्द्र चन्द र पुस्कर हमालले आफुमाथी ड र, त्रा स देखाइरहेको समेत उनले बताए । यस विषयमा प्रतिक्रिया लिन होटल तथा क्यासिनो सञ्चालक सिंहलाई पटक पटक फोन गर्दा सम्पर्क हुन सकी रहेको छैन । सिंहले होटल र क्यासिनोका आफ्ना (गुण्डा) प्रयोग गरेर जवरजस्ती डोजर चलाउँदा करिव १७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको श्रेष्ठले बताए ।
श्रेष्ठले २०५९ सालमा १७१ नम्बर कित्ता रहेको २ कठ्ठा साढे १४ धुर जमिन किनेर २०६४ सालमा घर निर्माण गरेको बताएका छन् । ‘मैले त्यतिबेला नगरपालिकाबाट नक्सापास गरेर घर बनाएको थिए, म विगत ४÷५ वर्षदेखी श्रीमतीको उपचारका लागि काठमाडौंतिर ब्यस्त भएको मौका छोपेर नयाँ नापी गराएर मेरो जग्गा हडप्न खोजेको नियत देखिन्छ,’ श्रेष्ठले भने । साविकका जग्गाधनी अग्रवालले १४ कठ्ठा जमिनमा सरकारी, सार्वजनिक र ब्यक्तिगत जमिन हडपेर अहिले १८ कठ्ठा पुर्याएको उनको जिकिर छ ।
उक्त होटलले अर्का स्थानीय योगेन्द्र स्वाँरको करिव ८ धुर र कालिमाई मन्दिरको करिव ४ कठ्ठा जमिन हडपेको र आफ्नो पनि करिव ५ धुर जमिन अहिले हडप्ने प्रयास गरिरहेको श्रेष्ठले सुनाए । अदालतको अन्तरिम आदेश विरुद्ध होटल सञ्चालकले आफ्नो संरचनामा जवरजस्ती डोजर चलाएपछि अदालतमा पुनः अवहेलना मुद्दामा दायर गरिएको श्रेष्ठले बताए । ‘मलाई अहिले पनि उनीहरु डर, धम्की दिइरहेका छन्, मेरो ज्यान जोखिममा छ,’ उनले भने ‘ज्यान सुरक्षा गरि पाउँ भनेर मैले माघ १९ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिइसकेको छु ।’
सरकारी, सार्वजनिक र ब्यक्तीगत सम्पत्तीमा आँखा लगाउनेमाथी छानविन गरिदिन उनले सम्वद्ध निकायसँग आग्रह गरेका छन् । उनको भनाई अनुसार यदि अदालतले उक्त जग्गा सिंहकै पक्षमा फैसला गर्छ भने त्यो आफुलाई मञ्जुर रहेको तर आफुसंग जग्गाको कागजात हुँदाहँदै दादागिरी शैलीमा आफ्नो व्यक्गित जग्गालाई यदि कसैले जबरजस्ती सरकारी र सार्वजनिक जग्गा हडपे सरह हप्डन खोज्छ भने त्यो कदापी स्वीकार्य नहुने उनले बताए । उनले कानूनि राज्यमा न्यायपुर्ण तरिकाले कानूनी शासनको पालना हुनु पर्ने माग गरेका छन् । आफुसँग सबै प्रमाणहरु रहेको श्रेष्ठको दाबी छ ।










