काठमाण्डौ । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ । सो पार्टीको शनिबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले हिमालय न्यूज हबलाई बताए । उनले नेकपा एकीकृत समाजबादीसँग पार्टी एकताका लागि अन्तिम तयारीमा रहेको बताए ।
उनले एकता गर्न लागेको पार्टीहरु ‘नेकपा एमाले, एकीकृत समाजबादी र माओबादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ । त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ ।
‘वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका निर्णयहरू अनुमोदन र कार्यान्वयनका लागि केन्द्रीय कमिटीको तेस्रो बैठक आगामी फागुन ६, ७, ८ गते सिद्धार्थ कटेज धोबीघाटमा ११ बजे बस्ने’, अध्यक्ष गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले बैठक खर्च व्यवस्थपन पार्टी सदस्यले नै व्यहोनुपर्ने जनाएको छ ।






