काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७९ को अवसरमा देश विदेशमा रहनुभएका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नयाँ वर्षको १ गतेलाई नेपालीहरुले मौलिक परम्पराअनुसार मनाउँदै आएको स्मरण गरेका छन् । अध्यक्ष ओलीले कुनै पनि बहानामा चुनाव रोक्नु लोकतन्त्र विरोधी काम हुने बताएका छन् ।
“नयाँ वर्ष २०७९ को यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख गरेका छन् । राजनीतिक स्थिरताको दृष्टिकोणले २०७८ साल सुखद नरहेको चर्चा गर्दै अध्यक्ष ओलीले भने,“गतवर्ष राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन । केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो ।”
यतिखेर मुलुक आर्थिक सङ्कटउन्मुख रहेको बताउनुहुँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू नेतृत्वको यसअघिको सरकारले दुरुस्त छाडेको अर्थतन्त्र अहिले भत्किएको आरोप लगाएका छन् । यो वर्ष निर्वाचनको वर्ष भएको चर्चा गर्दै अध्यक्ष ओलीले भनेका छन्,“हामीले आसन्न निर्वाचनमा कुनै कृत्रिम एजेण्डाको बैशाखी टेकिरहनु पर्दैन । विगतमा गरेका जनपक्षीय कामका विवरण हाम्रो योग्यता र क्षमताका उदाहरण हुन् ।” गोरखापत्र ।






