काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् । उनले पछिल्लो समय सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए ।
उनले किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले भने,‘सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरूले बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नस्ट गर्यो । नियमअनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड रुपैयाँ छ ।
सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकारले किसानलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याइ छ । तर बैंकले किसानलाई समाउँछ । सरकारलाई मेरो प्रश्न छ– बैंकको ऋणले थिचिएका किसानले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँसु झार्दै छानबिन गर्न समिति बनाउने हो कि ? ऋणले थिचिएका किसानलाई जोगाउनका लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’






