काठमाण्डौ । सत्तारूढ नेकपा (माओबादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन् ।
सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष महराले गृह मन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकिर समेत गरे ।
उनले भने,‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृह मन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा प्रधानमन्त्रीले टुङ्गो लगाउने कुरा हो ।’ सर्वोच्च अदालतले आदेश दिएपछि गएको शुक्रबार उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेले आफ्नो पद गुमाएका थिए ।
त्यही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले निर्णय गरेका छैनन् भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै त्यो मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ ।






