काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गरेकी छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सो आग्रह गरेकी हुन् ।
शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले सन्देशमा उल्लेख गरेकी छन् ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गरेका छन् । उनले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको बताएका छन् ।
शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भन्दै उहाँले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
साथै उनले सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान तथा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गरेका छन् ।
यसैबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँुदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताए ।
उनले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्नसक्ने उल्लेख गरेका छन् । अध्यक्ष ओलीले शहीदले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र नभई देशको समृद्धि र जनताको सुख पनि रहेको बताएका छन् ।
सन्देशमा अध्यक्ष ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानुनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उल्लेख गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गरेका छन् ।






