बाँके, नेपालगञ्ज । एनिमल नेपालका वरिष्ठ पशुु चिकित्सक आतिश कुमार यादवले पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले गधा, घोडा र खच्चडलाई अन्य पशुपन्छीकै समूहमा सूचिकृत गरिनु पर्ने बताएका छन् । आईतबार नेपालगञ्जमा आयोजित पशुपन्छी कल्याण सम्बन्धी अन्तरकृया कार्यक्रममा उनले गधा, घोडा र खच्चडले सिंगो मानव जाती र समूदायलाई पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले अन्य पशुपन्छीकै समूहमा सूचिकृत गरिनु पर्ने बताएका हुन् ।
उनले भने,‘नेपाल सरकारले केवल गाई, भैसी, कुखुरा, बाख्रा, लगाएत अन्य सबै पशुपन्छीलाई एउटै समूहमा समेटेर सूचिकृत गरेको छ तर गधा, घोडा र खच्चडलाई भने अहिलेसम्म पशुपन्छीको समूहमा सूचिकृत गरेको छैन । जब कि तराईको केही ठाउँ, पहाडी र हिमाली भेग तिर प्राय यिनै गधा, घोडा र खच्चडले नै सिंगो मानव जाती र समूदायमा नै योगदान पुर्याउँदै आईरहेका छन् । तर यिनीहरुको योगदानको राज्यले अहिलेसम्म कुनै मूल्यांकन नै गरेको छैन ।’
उनले प्रष्ट्याउँदै भने,‘गाईले दुध दिन्छ, कुखुराले अण्डा दिन्छ र मासुको उपयोग गर्न पनि सकिन्छ त्यसैगरी खसी बोकाले पनि मासुु दिने काम गर्छ त्यसैले यी र यस्ता पशुपन्छीलाई नेपाल सरकारले एउटै समूहमा सूचिकृत गरेको छ । तर यिनीहरुको जस्तै र कुनैपनि मानेमा कम नभएको योगदान छ गधा, घोडा र खच्चडको पनि । यिनीहरुलाई पनि भारीको भारी बोकाएर मानिसले आफ्नो उपयोग गरिरहेका छन् । के यिनीहरुको योगदानलाई नजरअन्दाज गर्न मिल्छ होला र ? के यिनीहरुले अण्डा र मासु दिंदैनन् भन्दैमा यिनीहरुको योगदानको मूल्यांकन गर्नै नहुने हो र ?’ उनले प्रश्न गरे ।
वरिष्ठ पशु चिकित्सक डा. अतिश कुमारका अनुसार नेपालगञ्जमा १ सय ७७ घर परिवारले गधा, घोडा र खच्चड पालेका छन् । उनीहरुको दैनिक रोजी रोटीको कमाई नै तिनै गधा, घोडा र खच्चडबाट हुँदै आएको छ । उनले गधा, घोडा र खच्चड पनि पशु भएको हुनाले यिनीहरुलाई पनि अन्य पशुलाई जस्तै रेबिज र टिटनाशक सुई लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले अहिले सम्म गधा, घोडा र खच्चडलाई भारी बोक्ने जनावरको रुपमा सुचिकृत गर्दै उनीहरुको जिम्मेवारी यातायात मन्त्रालय अन्तर्गत राखेको बताउँदै यो सरासर उनीहरुमाथि अन्याय भएको उनको भनाई थियो ।
पशुपन्छीलाई पनि मानिसलाई जस्तै बिदा चाहिन्छ, उनीहरुको पनि स्वतन्त्र भएर बाँच्न पाउने अधिकार सुनिश्चित हुनु पर्छ भन्दै पशुपन्छीको हक र अधिकारका लागि २००९ सालदेखि एनीमल नेपालले काम गर्दै आई रहेको छ । एनीमल नेपालले विशेष गरेर पशुहरुले असहजता महसुस गर्न हुँदैन, उनीहरुलाई मानव जातीबाट वा उनीहरुको समूहबाट कुनैपनि प्रकारको चोटपटक लाग्न हुँदैन, उनीहरुले स्वतन्त्र भएर आफ्नो व्यवहारहरु देखाउन पाउनु पर्छ, उनीहरु कसैबाट पनि त्रसित हुनुहुँदैन र उनीहरुले पटेभरी खानाखान पाउनु पर्छ भन्ने कुरामा काम गर्दै आई रहेका छन् ।






