काठमाण्डौ । उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेको छ । मेयर शाहले गैरकानुनी ढङ्गले महानगरपालिकाभित्र डोजर आतङ्क फैलाएको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति काठमाण्डौले आज आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा समितिले जनप्रतिनिधि भएर नागरिकलाई दुःख दिने काम नगर्न मेयर शाहलाई चेतावनीसमेत दिएको छ । मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन हुने गरी डोजर आ त ङ्क फैलाएकाले खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनुपरेको नागरिक अगुवा सुमन सायमीले बताए । मेयर शाहले नागरिकलाई दुःख दिने काम गरिरहे सह्य नहुने उनले चेतावनी दिए ।
प्रदर्शनकारीहरूले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन गरेर मेयर शाहले ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले विनासूचना, विनाप्रमाण सडक विस्तारको नाममा सूचनासमेत नदिइ व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाण्डौ महानगरपालिकालाई सचेत गराएका छन् । यो समाचार उज्यालोमा छ ।






