काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम प्रसाद आचार्यको आत्मदाहमा सबै दोषी भएको बताएका छन् । उनले आर्चायको आत्मदहलाई देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम भएको बताएका छन् । बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा दिनदहाडै संसद भवन अगाडी आचार्यले गरेको आत्मदाहमा सबै दोषी भएको बताएका उक्त कुरा बताएका हुन् ।
गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु दुखद भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्,‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु ।’
लामिछानेको स्टाटस जस्ताको त्यस्तै………….
एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो । दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन ।
यसमा हामी दोषी छौँ, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौ, हामीलाई माफ गर्नु होला । तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।






