काठमाण्डौ । सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा ज्यान गएको छ । कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उनीको ज्यान गएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले उज्यालोलाई जानकारी दिनुभयो ।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाउनुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताईन् ।
आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए । स्टाटसमा उनले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित सङ्घर्ष र भोगाइबारे उल्लेख गरेका थिए । जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उनको लेखेको स्टाटसमा उल्लेख छ ।
आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उनले उल्लेख गरेका थिए । आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उनले स्टाटसमा लेखेका छन् ।
इलाममा रहेको पुर्ख्यौली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताउनु भएको थियो । सरकार, बिचौलिया र ठूलो व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उनले उल्लेख गरेका थिए । उनले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटस मार्फत् नै आग्रह गरेका थिए । आचार्यका श्रीमती र दुई छोरी छन् ।






