बाँके, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका पशुसेवा अधिकृत दिल बहादुर खड्काले पालिकाद्धारा छुट्टयाईएको निश्चित बजेटका कारण काम गर्न गाह्रो भएको बताए छन् । मंगलबार हिमालय न्यूज हबसंगको कुरकानीमा अधिकृत खड्काले पालिका छुट्टयाएको जम्मा २५ लाखको बजेटमा ६ वटा वडामा पशुसंग समबन्धित सेवा प्रदान गर्न गाह्रो भएको बताएका हुन् ।
उनका अनुसार बजेट अभावका कारण पशुलाई खुवाउने पोषिलो दाना (आहार) प्रदान गर्न सकिएको छैन । अहिलेसम्म पशु शाखाले केवल थोरै बजेटमा दिन मिल्ने डाले घाँस लगाएत अन्य घाँसका विरुवा बाहेक अरु पोषिलो दानापानि दिन नसकिएको अधिकृत खड्काको भनाई छ । बजेट अभावकै कारण उक्त पालिकामा पशु पालक किसानलाई उचित सेवा प्रदान गर्न नसकेतापनि पशु बिमा, पशु स्वास्थ्य जाँच, क्षतिपुर्ति रकम प्रदान लगाएतका कामहरु भने नियमित र उचित तरिकाले भएको पनि उनले बताए ।
उनले भने,‘हामीलाई पालिकाले बजेट थोरै दिएता पनि त्यही थोरै बजेटलाई म्यानेज गर्दै हामीले यस पालिकामा रहेका प्रत्येक वडाका पशु पालकहरुलाई भने मर्कामा पर्न दिएका छैनौं ।’ उनले अगाडी थपे,‘प्रत्येक वार्डमा एक एक जना पशु प्राविधिकलाई खटाईएको हुनाले हामीले नियमित रुपमा पशु जाँच गराई रहेका हुन्छौं । पशु बिमाका विषयमा यहाँका किसानलाई जानकार गराएका छौं त्यसैले यस पालिकामा ३ महिना भन्दा माथिका प्रत्येक पशुको बिमा गरिएको छ । र केही कारणबस् पशुको मृत्यु हुन गएको खण्डमा पशु बिमा पाउनेहरु ९० प्रतिशत छन् ।’
अधिकृत खड्काले उन्नत जातको बाख्रा उत्पादनका लागि जानकी गाउँपालिकामा राजीस्थानि विकासे बोका ल्याउने पनि बताए । उनका अनुसार राजीस्थानि बोका यहाँको हावापानीमा सहजै घुलमिल हुन सक्ने भएको हुनाले पनि उनले उक्त बिकासे बोका ल्याउन लागिएको बताएका हुन् । गाउँपालिकाले शाखालाई दिएको निश्चित बजेटको आधारमा गरेको राम्रो र प्रभावकारी कामको विषयमा अधिकृत खड्काले पशु किसानको बस्तु भाउ बचाई दिएको बताए ।
विभिन्न किसिमका महामारी लाग्नै नदिनका लागि खोपको उचित व्यवस्था गरेको बताउँदै पशु अधिकृत खड्काले भने,‘हामीलाई दिएको निश्चिित बजेटले काम गर्न साह्रै अप्ठ्यारो परिस्थिति भएतापनि हामीले हाम्रो पालिकाका पशु किसानको बस्तुभाऊ बचाई दिएका छौं । विभिन्न महामारीका कारण पशुलाई लाग्ने रोग र पशु मृत्युदर घटाएका छौं ।’ उनले भने,‘हामीले पशुलाई लाग्ने भ्यागुते, खोरेत, पिपिआर जस्ता खतरनाक रोग लाग्नु पहिला नै पशुलाई भ्याक्सिन लगाई सकेका हुन्छौं ।’
पशु सेवा सञ्चालनका लागि पशु शाखालाई परेको अप्ठ्यारो र चुनौतिका विषयमा अधिकृत खड्का भन्छन्,‘यस पालिकामा ९० प्रतिशत किसान छन् । र तिनै किसानको आर्थिक अवस्थालाई माथि उकास्नका लागि पशु पालन क्षेत्रमा पनि एउटा मुख्य पेशा हो । र यस क्षेत्रमा बजेट छुट्टयाउन आवश्यक छ भन्ने जनप्रतिनीधिहरुले सोच्नु पर्छ । जनप्रतिनीधिहरुले पालिका र पशु बीचको समबन्ध अन्योन्याश्रीत छ भन्ने कुरा बुझिदिए भने बजेट त्यसै छुुटिन्छ र बजेट झण्डै ६० या ७० लाखको हाराहारीमा छुट्टयाई दिने हो भने यस पालिकाको आर्थिक बृद्धिदर पशुबाटै माथि जानेछ ।’






