काठमाण्डौ । गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई दिईएको लिखित निर्देशनका विषयमा एमालेले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइरी पक्राउ नपर्नुमा गृह प्रशासन नै मुख्य दोषी रहेको आरोप लगाएको छ । एमालेका सचिव रघुवीर महासेठले अदालतबाट दोषी ठहर भई फरार प्रतिवादीको सूचीमा रहेको सांसदलाई पक्राउ गर्न गृहमन्त्रीले नै निर्देशन दिसकेको अवस्थामा किन पक्राउ गर्न सकिएन भन्दै प्रश्न गरे ।
यो मामिलामा गृह प्रशासन नै दोषी भएको उनले दाबी गरे । सांसद महतोलाई पार्टीले वा पार्टीका नेताहरुले संरक्षण गरेको आरोपमा कुनै सत्यता नरहेको उनले बताए । दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदा पनि उनी पक्राउ पर्न नसकेपछि लिखित रुपमै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।
फरार प्रतिवादी कोइरीलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएपनि पक्राउ भने गर्न सकिरहेको छैन । कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा संसद भवनमा उपस्थित भएका थिए । ‘सांसद संसद भवन छिर्दा पनि बाहिरिँदा पनि प्रहरी हुन्छ । तर पनि उनी पक्राउ नपर्नुमा गृह प्रशासनको मिलोमतो हो’, उनको भनाइ छ । तपाईँहरुले संरक्षण गर्दा पक्राउ पर्न नसकेको आरोप छ नि भन्ने प्रश्नमा उनले कानूनी कारवाहीबाट बचाउन पार्टीले कसैलाई प्रभावित नपारेको जिकिर गरे ।
सचिव महासेठले न्यायिक इजलासबाटै दोषी ठहर भएको व्यक्तिलाई गृहमन्त्रीले पनि निर्देशन दिनु नपर्ने धारणा राख्दै यसमा गृह प्रशासनकै कार्यशैली शंकास्पद भएको बताए । मधेस आन्दोलनको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका जवान प्रेमबहादुर विकको हत्या प्रकरणमा यादवलाई उच्च अदालतले दोषी ठहर गरेको थियो । हत्या आरोपका बीच उनी महोत्तरी १ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।
तत्कालिन राष्ट्रिय जनता पार्टीमै रहँदा मधेश आन्दोलनको क्रममा विकको हत्या भएको थियो । उक्त हत्या प्रकरणमा कोइरी संलग्न रहेको जिकिरसहित मुद्दा दायर भएको थियो । विक हत्या प्रकणरमा देवेन्द्र यादव, कौशल कुमार यादव, अभिराम शर्मा र अनिल ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको थियो । २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा विकको ह त्या भएको थियो ।






