काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेको पोखरा जाने कार्यक्रम स्थगित भएको छ । यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलोकनका लागि उनीहरू पोखरा जान लागेका थिए । सुरक्षा निकायको टिमले प्रधानमन्त्री र गृहमन्त्रीलाई यस्तो परिस्थितिमा पोखरा नजान सुझाव दिएपछि पोखरा जाने कार्यक्रम स्थगित भएको हो ।
दुर्घटना स्थलको अवलोकन गर्न प्रधानमन्त्री दाहाल, गृहमन्त्री लामिछाने र अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाने तयारीमा थिए । यस्तो विसम परिस्थितिमा देशकै प्रधानमन्त्री र गृहमन्त्री घटना स्थलमा जाँँदा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थामा उद्धारकार्य प्रभावित हुनसक्ने भएकोले सुरक्षा निकायले नजान सुझाव दिए पश्चात कार्यक्रम रद्द गरिएको हो ।
आज आईतबार काठमाण्डौंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । आइतबार बिहान काठमाण्डौबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।






