काठमाण्डौ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् । देशको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने पूर्वमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीको तर्क थियो ।
शनिबार काठमाण्डौमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराए ।
उपमहासचिव ज्ञवालीले देशको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गरेका थिए । नभए चुनाव अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा देश मारमा पर्ने उहाँले स्मरण गराए । उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर देशको राजनीतिलाई अघि बढाउनुको विकल्प नरहेको बताए ।






