नेपालगन्ज । नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले विदेशी पर्यटन ब्यवसायीलाई नेपालमा बोलाएर यहाँका पर्यटकीय गन्तब्यमा पुर्याउने उद्येश्यले ट्राभल मार्ट आयोजना गर्न लागिएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन मार्फत उनले पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता उक्त मार्ट आयोजना गर्न लागिएको बताएका हुन् ।
‘हामीले यसअघि गरेको ट्राभल मार्टले केही हदसम्म सकारात्मक उत्साह ल्याएर आएको थियो, जसले धेरै भारतीय पर्यटकलाई सजिलै नेपाल जान सकिन्छ भन्ने सन्देश गएको छ,’ उनले भने ‘हामी विदेशमा गएर प्रवद्र्धन गर्नुभन्दा उनीहरु यहाँ आफै अनुभुती गरेर गए भने नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रचार हुन्छ भन्ने हिसाबले ट्राभल मार्ट आयोजना गरिएको छ ।’
पत्रकार सम्मेलनमा वेष्टर्न ट्राभल मार्टका संयोजक श्रीराम सिग्देलले पश्चिम नेपालको पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि ट्राभल मार्ट गर्न लागिएको प्रष्ट्याए । सिग्देलले भने, ‘भारतका पर्यटन ब्यवसायीहरु ट्राभल मार्टमा आउँदै हुनुहुन्छ, हामीले उहाँहरुलाई पर्यटकीय गन्तब्यहरुमा लैजान सकियोस्, चिनाउन सकियोस्, भारतीय पर्यटन ब्यवसायीले प्रचार(प्रसार गरिदिनु भयो भने तेस्रो मुलुकमा जाने पर्यटकलाई नेपाल फर्काउने वातावरण तयार बन्नेछ ।’
वेष्टर्न ट्राभल मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) बाट कार्यकारी निकाय समेत ७५ जना, छिमेकी सिमावर्ती शहरबाट ४० जना र आन्तरिक पर्यटन ब्यवसायी गरी करिव ३ सय जना ट्राभल टुर अपरेटर, ब्लगर, सामाजिक सञ्जाल प्रभावकारीको सहभागिता रहने भएको छ । मार्टमा काठमाडौं लगायत ७ वटै प्रदेशका पर्यटन व्यवसायीहरु भेला भई स्थानीय सँस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
‘भारतीय टुर अपरेटर र नेपालका पर्यटन व्यवसायीलाई सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत छौं, क्यानको सहमति हुनासाथ यसले सार्थकता पाउनेमा विश्वस्त छौं,’ संयोजक सिग्देलले भने ‘कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गर्ने कार्यक्रम तय गरिसकिएका छन् ।’
यस्तै हेलिकप्टरमार्फत बाँकेको धार्मिक पर्यटकीय स्थल बर्फानी बाबा आश्रम र सन्तानेश्वर मन्दिर दर्शन गराउनका लागि स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड बनाउने प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका करिव ३० जना टुर अपरेटर खरिदकर्ताको रुपमा मार्टमा सहभागी हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान), होटेल व्यवसायी संघ लगायतका संघ, संस्थाको सहकार्यमा आगामी माघ १५ देखी १७ गतेसम्म ट्राभल मार्ट गर्न लागिएको जानकारी दिइएको थियो ।
मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्था र भारतबाट सहभागी हुने टुर अपरेटरबीच यस क्षेत्रका टुर प्याकेज बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुने जनाइएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेजहरुको आदान(प्रदान हुनेछ,’ संयोजक सिग्देलले थपे । गतवर्ष पनि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो ।






