काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आइतवार आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोहमा उहाँले आउँदो मङ्गलवार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।
अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । उनले भने,‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झन्ड दुई तिहाइको स्थितिमा पुर्याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पुर्याउन सक्छ ।’
ओलीले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए । अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए ।






