नेपालगन्ज । कोहलपुर नगरपालिकाले प्रसूति महिला तथा नवजात शिशुलाई आवश्यक पर्ने रगत आपूर्ति व्यवस्था सहज बनाउनका लागि रकम खर्चने भएको छ । उक्त पालिकाको पौष २० गते बसेको बैठकले मातृ शिशु मृत्युदर न्यूनिकरणका लागि आवश्यक पर्ने रगत व्यवस्था सहज बनाउन नेपाल रेडक्रस कोहलपुर उपशाखालाई २२ लाख बजेट दिने भएको हो ।
उपशाखाले संचालन गर्ने गरी रक्तसंचार स्थापना गर्न आवश्यक पर्ने सामाग्री एवम् पूर्वाधार निर्माणका लागि नगरपालिकाले उक्त बजेट रेडक्रसलाई दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसंचार, उत्प्रेरणा सेवा, न्यानो झोला र निःशुल्क गर्भपतन कार्यक्रममा विनियोजित नेपाल सरकार नगद अनुदानको बजेट मध्ये २२ लाख रुपैयाँ रेडक्रसलाई दिने निर्णय भएको ढकालले बताए ।
कुनै पनि आमा तथा नवजात शिशु रगत अभावकै कारण मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले नगरपालिकाले बजेट विनियोजन गरेकोप्रति रेडक्रस कोहलपुर उपशाखा सभापति दिनेश सिक्देलले खुसी धन्यबाद दिएका थिए । यस्तै कोहलपुर नगरपालिका वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि लागेको लागत रकम निर्माण कम्पनीलाई भुक्तानी गर्ने निर्णय भएको छ ।
कोभिड महामारीका कारण स्वास्थ्य मन्त्रालयबाट बजेट प्राप्त नभएपछि निर्माण कार्य रोकिएको थियो । उक्त केन्द्रको भवन आर्थिक वर्ष ०७९, ८० मा निर्माण सम्पन्न गर्नु पर्ने आवश्यक भएकाले पुनः काम सुरु गराई निर्माण सम्पन्न भई अहिले केन्द्र संचालनमा छ । भवन निर्माण कार्य सम्पन्न प्रतिवेदनसहित मंसिर १६ गते स्वास्थ्य मन्त्रालयमा भुक्तानीका लागि प्रतिवेदन पेश भइसकेको छ ।
तर बजेट आउन ढिलाई भएकाले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने २१ लाख १४ हजार एक सय ९२ रुपैयाँ पछि स्वास्थ्य मन्त्राललयबाट बजेट प्राप्त भएमा सोधभर्ना गर्ने गरी चालु आर्थिक वर्षको बजेट पुस्तिकाको म्याचिङ फन्टबाट सापटी लिइ भुक्तानी गरिने भएको छ ।






