बाँके, नेपालगञ्ज । लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी भीम प्रसाद तिवारीले यूजर आईडी नलिएर सञ्चालन गरिएका सबै सहकारीलाई बन्द गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपालगञ्जमा सम्पन्न कोपोमिस तालिमको समापन कार्यक्रममा बोल्दै दर्ता अधिकारी तिवारीले यूजर आईडी नलिएर सञ्चालन गरिएका सबै सहकारीलाई बन्द गर्ने चेतावनी दिएका हुन् । उनले केही कर्मचारीका कारण सहकारीको रकम हिनामीना भएको बताउँदै यस्ता गतिबिधीले सहकारी बदनाम हुँदै गई रहेको पनि बताए ।
दर्ता अधिकारी तिवारीका अनुसार सहकारीको नियम अनुसार सहकारीलाई नचलाएर विशेष गरी आफ्ना आफन्त र नातामा पर्नेहरुलाई नै बढी सदस्यता दिएर सहकारी चलाईएको छ । यस विषयमा उनले त्यसरी नाताबाद र कृपाबादको प्रकृया मार्फत चलाईएका सहकारीहरुको छानबीन गरी कारवाहीको दायरामा ल्याउने बताए । तालिममा सहभागी भएकाहरुलाई सहकारीको काम भनेको साना रकमलाई पेवाका रुपमा संकलन गरेर सेवा प्रदान गर्ने हो तर हिजोआज धेरै सहकारीले लाभांस र ब्याजको लोभ देखाउँदै रकम असुली गर्ने गरेको बताए ।
कार्यक्रममा विशिष्ट अथितिका रुपमा रहेका उनले भने,‘सहकारीको काम भनेको साना साना खुतुर्के रकमलाई जम्मा गरेर सेवा प्रदान गर्ने हो तर हिजोआज यस्तो हुनुको साटो धेरै लाभांस र ब्याजको लोभ देखाएर रकम संकलन गर्ने प्रचलनमा सहकारी अघि बढिरहेको पाईएको छ ।’ सहकारीलाई चुस्तदुरुस्त बनाउनकालागि यस्ता तालिमले धेरै प्रभाव पार्ने उनको भनाई थियो । त्यसैगरी कार्यक्रममा लुम्बिनी सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले पछिल्लो अवस्थामा सहकारी संस्थामा कार्यक्षेत्र भन्दा बाहीरको व्यक्तिलाई सदस्यता दिने गरेको बताए
्रप्रमुख अथितिका रुपमा रहेका उनले सहकारी अनुशासनहीन बन्दै गईरहेको बताउँदै नियमित मासिक रुपमा सहकारीको रिर्पोटिंग हुन नसक्दा सहकारी प्रतिदिन कम्जोर हुँदै गईरहेको बताए । उनले भने,‘हिजोआज सहकारीहरुले मासिक रुपमा रिर्पोटिंग नगर्दा सहकारी कम्जोर हुँदै गईरहेको छ । यो विषयमा समय सचेत हुन सकिएन भने भोलीका दिनमा सहकारी प्रति उपभोक्ताको विश्वास उठ्न समय लाग्नेछैन ।’ सहकारी हैसियत मिल्नेहरुको संस्था भएको हुनाले यस्मा सबैको समान अधिकार हुने कार्यकारी उपाध्यक्ष पोख्रलले बताए ।
तालिममा सहभागी भएकाहरुलाई उत्साह दिंदै सहकारीलाई ब्राण्ड बनाउन आग्रह गरे । उनले भने,‘तपाईको सहकारीलाई तपाईँले एउटा छुट्टै ब्राण्ड बनाउन तिर लाग्नुस् । अरुले गरेको कामलाई पच्छ्याउने हैन आफैले केही नयाँ गर्ने प्रयास गर्नुस् र तपाईँ आवद्ध हुनु भएको सहकारीलाई एउटा ब्राण्डको रुपमा स्थापित गर्नुस् ।’ सहकारी सञ्चालक र अध्यक्षहरुले ऐन नियमको पालना नगर्दा नयाँ सहकारीप्रति नकारात्मक भाव उत्पन्न हुने हुनाले यसप्रति सचेत रहन उनले सुझाव दिए ।
सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रार्चाय विनोद कुमार पौडेलको अध्यक्षतामा सम्पन्न उक्त तालिममा लुम्बिनी प्रदेशका नवलपरासी, कपिलवस्तु, प्युठान, रोल्पा, पुर्वी रुकुम, दांग, बाँके र बर्दियाका गरी ८ जिल्लाका गरी २४ जनाको सहभागीता रहेको थियो । ३ दिन सम्म सञ्चलन भएको उक्त तालिमको समापन कार्यक्रममा तालिमबाट सिकेका कुराहरुलाई महिलाका तर्फबाट सुस्मा चौधरी र पुरुषका तर्फबाट हर्क घर्ती मगरले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमलाई सहकारी प्रशिक्षक गोपाल पौडेलले सञ्चालन गरेका थिए ।
















