काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को कार्यकाल सकिन लाग्दै गर्दा सो पदमा को नयाँ आउँछन् भन्ने चासो बढ्न थालेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अघि निर्वाचनको सबै प्रक्रिया पुरागरी सक्नुपर्ने व्यवस्था छ ।
सत्तारुढ सात दलको गठबन्धनबाट राष्ट्रपति एमाले र उपराष्ट्रपति माओबादी भागमा पर्ने प्रबल सम्भावना छ । एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरू दाबेदार छन् । एमालेले राष्ट्रपति पुरुषलाई बनाएमा माओबादीबाट
उपराष्ट्रपति पदमा महिलाबाट जयपुरी घर्ती, ओनसरी घर्ती, उर्मिला अर्याल, पूर्णकुमारी सुवेदीलगायत प्रमुख दाबेदार रहने देखिएको छ । पार्टीको स्थायी समितिमा भएका र राजनीतिक रुपमा महत्वपूर्ण भूमिका खेलेकाले उनीहरू उपराष्ट्रपतिको दौडमा सबैभन्दा अघि देखिएका हुन् ।
यद्यपि जयपुरी घर्ती र उर्मिला अर्यालले आफूहरू अझै पार्टीको कार्यकारी भूमिकामा रहेर काम गर्ने इच्छा भएको प्रतिक्रिया दिएका छन् । पार्टीले उचित देखेर पठाएमा भने अस्वीकार गर्न नमिल्ने घर्तीले बताइन् । यस्तै पूर्णकुमारी सुवेदीले उपराष्ट्रपति इच्छा भएपनि पार्टीले निर्णय गरे मात्रै साकार हुने बतार्इन् ।
पार्टीले उपराष्ट्रपतिमा पठाए आफू जान तयार भएको सुवेदीले बताइन् । यसैगरी काठमाडौं २ बाट पराजित ओनसरी घर्ती उपराष्ट्रपति बन्न सक्ने व्यक्तित्व भएको नेताहरूले बताएका छन् । उनका श्रीमान् समेत रहेका वर्षमान पुन मन्त्री भएर नगएमा घर्ती उपराष्ट्रपति हुनसक्ने नेताहरूको आकलन छ ।
उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने भन्दा वरीयतामा तल हुनेगरी मन्त्री नहुने पुनले पार्टीमा बताउँदै आएको बताइन्छ । यसैबीच पार्टी उपमहासचिव हरिबोल गजुरेलले भने उपराष्ट्रपति पद अस्विकार गरिसकेका छन् । अझै पार्टीको कार्यकारी भूमिकामा काम गर्ने इच्छा भएकाले उपराष्ट्रपतिमा नजाने गजुरेलले बताए ।
यस्तै अर्का नेता दीनानाथ शर्मा, लिलामणि पोखरेल लगायत नेताहरू समेत उपराष्ट्रपतिमा जान सक्ने नेतामा पर्छन् । तर, एमालेले महिला वा पुरुष कसलाई राष्ट्रपति बनाउँछ त्यसैबाट माओबादीबाट उपराष्ट्रपतिमा जाने नेताहरूको टुंगो लाग्ने देखिएको छ ।
योपनि नेकपा माओबादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् ।
माओबादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु’ रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘उपराष्ट्रपति पदमा जान्न भनेको छु । अरु नियुक्तिहरुमा पनि जाने कुनै योजना छैन ।’
पार्टीमा धेरै खालका सुधार गर्नुपर्ने भएकाले उपराष्ट्रपति नजाने योजना बनाएको गजुरेलले बताए । ‘पहिला पार्टी बनाउनुपर्यो । पार्टी बलियो र प्रभावकारी भएमा जुनसुकै पद लिए पनि हुन्छ । अब पार्टी नै बलियो भएन भने जुनसुकै पद लिए पनि के हुन्छ र रु उनले भने,
‘त्यसैले पार्टी बनाउन महाधिवेशनदेखि नै कार्यकारी भूमिका खोजेको थिए ।’ राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा राष्ट्रपति महिला भएमा उपराष्ट्रपति पुरुष हुन सक्ने व्यवस्था छ ।






