काठमाण्डौ । नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताए । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन मङ्गलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए ।
राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औंल्याए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नागरिकको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।






