काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आज मंगलबार नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारको अबको प्राथमिकता अर्थतन्त्रको पुनरूत्थानका लागि रहने बताएका हुन् ।
नेकपा माओबादी अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनले बताए । ‘महासङ्घ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईँहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनुभएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ ।’ उनले भने
प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे । भेटघाटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रचण्डलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुभकामना दिएर्का िथए ।
गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र अहिले देखिएको तरलता सङ्कुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने बताए । देशको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा उनले बताए ।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ्ग समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको उनको भनाई थियो । गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुझेर त्यही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताएका छन् ।






