काठमाण्डौ । नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् ।
आज सोमबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका हुन् । उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मारेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले नागरिकले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरिकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘यो सरकारको प्राथमिकता राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै सुशासन कायम गरेर समृद्धिको फड्को मार्नु हो ।
राजनीतिक परिवर्तनपछि नागरिकको जीवनमा परिवर्तन गर्नु हो । यसअघि भएका सकारात्मक कामलाई आत्मासात् कमजोरीलाई सच्याउने, समस्यालाई समाधान गर्ने सरकारको काम हो । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई कडाइपूर्वक रोक्नु पहिलो काम हुन्छ ।
नागरिकको जीवनमा परिवर्तन हुने गरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, खानेपानी, सडक, बिजुली हामीले उपलब्ध गराउनुपर्ने हुन्छ ।’ मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी पनि दिए ।
उहाँले भ्रष्टाचार गर्ने र आफू अनुकूल ऐन, कानुन बनाउनेहरूको दिन गएको बताए । उनले भने,‘भ्रष्टाचार गर्नेले वा पैसालाई मात्र केन्द्रविन्दुमा राख्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु र ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस् ।’






