बाँके । बाँकेको नेपालगञ्ज स्थित सहकारी प्रशिक्षालयमा सञ्चालित सहकारी सम्बन्धि लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । पौष १ गतेबाट शुरु भएको तालिम ६ दिनसम्म सञ्चालित थियो । ९ जिल्लाका सहकारी कर्मचारीहरुको सहभागितामा सञ्चालित उक्त तालिम पौष ६ गते सम्पन्न भएको सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रार्चाय विनोद कुमार पौडेलले बताए ।
निमित्त प्रार्चाय पौडेलले तालिम समापनका दिन सहभागीहरुलाई आर्थिक वर्ष समाप्त हुनुभन्दा अगाडी तीन महिना भित्र सहकारीको अडिट हुनु पर्ने र पौष मसान्त भित्र सहकारीको साधारण सभा गरि सक्नु पर्ने नियम भएको हुँदा यो नियम अनुसार सहकारी सञ्चालित भए नभएको विषयमा तालिमबाट फर्किएर विचार पुर्याउनु पर्ने र नियमानुसार सहकारी सञ्चालनका लागि दबाब दिनु पर्ने सुझाब दिए ।
लेखाले सहकारी संस्थालाई चुस्त दुरुस्त बनाउने बताउँदै लेखाको अभिलेखका विषयमा लेखा संयोजकलाई आन्तरिक र बाह्य लेखाको व्यवस्थाको विषयमा जानकारी हुनु पर्नेमा जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेशका ९ वटा जिल्लाका गरी २५ जना सहकारीमा आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी सिद्धेश्वर बहुउद्येश्यीय सहकारी संस्था अर्घखाँचीका मित्र देव पौडेलले आफु सहकारीको कोषाध्यक्ष भएतापनि सहकारी सञ्चालनको नियमका बारेमा धेरै जानकार नभएको बताउँदै उक्त तालिमले धेरै कुरा सिकाएको बताए । उनले भने,‘म शुरु देखि नै सहकारीको साधारण सदस्य हुँदै अहिले कोषाध्यक्ष छु । तर मलाई सहकारी सञ्चालन सम्बन्धि खासै ज्ञान रहेनछ । यो तालिमबाट मैले जे जति कुरा सिकेको छु,
त्यो सबै कुरालाई मैले आफ्नो सहकारीमा आउने दिनहरुमा लागू गराउने छुु । मेरो अबको प्राथमिकता सञ्चालक समितिलाई आफुले जानेको र बुझेको कुरा सुनाएर सहकारीलाई चुस्त दुरुस्त तरिकाले सञ्चालन गराउनमा जोड दिनेमा रहनेछ ।’ तालिमको समयावधि छोटो भएको भन्दै मित्र देवले आयोजकलाई आगामी दिनमा यस्ता तालिम आयोजना गर्दा तालिमको समयावधि लामो बनाउन पनि सुझाव दिए ।
कार्यक्रममा सहभागी बग्नासकाली बहुउद्येश्यी सहकारी संस्था लिमिटेड पाल्पाकी लेख सदस्य जीव कला बस्यालले यो तालिममा आउनु पुर्व सहकारी संयोजकसंग परामर्श लिएर मात्रै काम गर्ने गरेको अनुभव सुनाईन् । उनले भनिन्,‘मैले विगत २ वर्षदेखि सहकारीमा काम गर्दै आई रहेको छुु । तर यो २ वर्षमा मैले केही काम गर्नु पुर्व सहकारीका संयोजक रवीलाल तिमील्सेना सरलाई सोधेर मात्र गर्ने गथें । तर यो तालिममा आएपछि भने अब सोधेर गर्नु पर्ने अवस्था आउने छैन ।’
उनले अगाडी भनिन्,‘यो ६ दिनको तालिमबाट मैले लेखा सम्बन्धि धेरै कुरा सिकेको छु । आउने दिनहरुमा म तालिमबाट सिकेका कुरालाई आत्मासाथ गर्दै अघि बढ्ने छु र अरु साथीहरुलाई पनि सिकाउने छु ।’ तालिममा सहभागी अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्था बाँकेकी व्वस्थापक झुपा विष्टले प्रत्येक सहकारीले तालिम प्राप्त गरेर सहकारीको ज्ञान भएकाहरुलाई सहकारीमा आवद्ध गराउनु पर्ने बताईन् । उनका अनुसार सहकारीमा प्राय तालिम नलिएकाहरुको संलग्नता भएको हुनाले पछिल्लो समय सहकारी डुब्दै गई रहेको हो ।
सहकारीलाई चुस्त दुरुस्त तरिकाले सञ्चालन गर्नका लागि आधारभूत देखि एडभान्स सम्मको तालिम लिन आवश्यक भएको बताईन् । उनी भन्छिन्,‘अब समय पहिलको जस्तो छैन । चिनेजानेकालाई र आफ्ना आफ्न्तलाई सहकारी राखेर सहकारी चलाउने । अबको समय प्रतिस्पर्धाको समय हो त्यसैले सहकारीमा आवद्ध कर्मचारी मात्र नभएर सञ्चालक र व्यवस्थापकहरु स्वयमले पनि यस्ता तालिम लिन आवश्यक छ ।’











