काठमाण्डौ । नेकपा एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो ।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् । एमाले ७८ सिटसहित प्रतिनिधि सभामा दोस्रो पार्टीको रूपमा रहेको छ ।
राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । आज मङ्गलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।






