दार्चुला । भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकारी गरिरहेको हो । मंसिर २१ गते नेपाल र भारतीय प्रशासनकाबीच भारतको धारचुलामा अस्थायी अर्थात कृत्रिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो ।
तर १० दिन बित्न लाग्दासमेत भारतले ढुंगामुढा र तारजालीसहितको तटबन्ध हटाएको छैन् । यदि तटबन्ध भारतले नहटाए बर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ । जिल्ला सदरमुकाम खलंगा पारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र त्यत्तिकै नापमा चौडा पक्की तटबन्ध बनाइरहेको छ ।
तटबन्ध निर्माणका क्रममा भारतले नदी किनारमा थुप्रै ढुंगाहरु, तारजालीसहितको बाँध खडा गर्दा पानी नेपालतिर होचिएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताएका छन् । नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको भारतलाई त्यो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन भनिने उनले बताए ।
नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने मंसिर २१ गतेमा सहमति भएको उनको भनाइ छ । भारतले पक्की तटबन्ध भन्दा नदी किनारतिर आएर धार परिवर्तन हुने गरी संरचना निर्माण गर्दा नेपाली पक्षबाट विरोध हुँदै आएको छ ।






