नेपालगञ्ज । ‘लेखा तालिम भनेको चेन जस्तै हो । यो तालिममा सिक्नु पर्ने कुराहरु सबै सिरियलबद्ध तरिकाले सिक्नु पर्ने हुन्छ । कुनैपनि कुरा सिक्नबाट चुक्नु भयो भने तपाईँलाई सहकारीको लेखा सञ्चालनमा गाह्रो परिस्थिति आउन सक्छ ।’ यो भनाई हो सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्राचार्य विनोद कुमार पौडेलको । शुक्रबार बाँकेको नेपालगञ्जमा सहकारी लेखा व्यवस्थापन तालिमको उदघाटन सत्रमा सहभागिहरुलाई सम्बोधन गर्दै निमित्त प्राचार्य पौडलले प्रत्येक सहकारीले आफ्नो लेखा व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
आजदेखि नेपालगञ्जमा शुरु भएको उक्त तालिममा लुम्बिनी प्रदेशको ९ वटा जिल्लाबाट सहभागि हुन आएकाहरुले आफ्नो सहकारीलाई अझैं राम्रो, व्यवस्थित र विशेष गरेर लेखामा पारदर्शीता ल्याउनकालागि तालिममा भाग लिएको बताए । परिचय गर्ने क्रममा गुल्मीका एक सहभागीले भने,‘प्राय सहकारीमा आवद्ध भएका हामीहरु तालिम नलिएर अथवा लेखा सम्बन्धि कुनै ज्ञान नभएर काम गरिरहेका छौं । तर यो तालिमबाट मैले सहकारीमा कसरी भौचर काट्ने रु खाताको व्यवस्थापन कसरी गर्ने रु जस्ता धेरै कुराहरु सिक्नेछु ।’
परिचयकै क्रममा रुकुम पुर्वीबाट आएका एक सहभागीले तालिममा आउनुको कारण आजसम्म आफुले आफ्नो सहकारीमा गरेको कामको अनुभव सुनाउन र काम गर्ने शिलशिलामा आफुबाट भएका कमीकम्जोरीलाई पनि सुधार्न आएको बताए । तालिममा सहभागीहरुलाई सहकारी प्रशिक्षक भोजलाल थारुले सहकारीको लेखा सम्बन्धी अवधारणा र नियमका कुराहरु सिकेर आगामी दिनमा काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा लेखा व्यवस्थापन सम्बन्धमा सहकारी प्रशिक्षालयमा रहेको लाईब्रेरीबाट पनि धेरै कुरा सिक्न पाईने विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
६ दिनसम्म सञ्चालन हुने उक्त तालिममा कपिलवस्तु, रुपन्देही, पाल्पा, दांग, अर्घखाँची, गुल्मी, रुकुम पुर्वी, बाँके र बर्दियाका गरी २५ जनाको सहभागिता रहेको छ । लुम्बिनी प्रदेश भरी रहेका सहकारीको लेखा व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त बनाउने उद्येश्यले आयोजना गरिएको तालिमको उदघाटन सत्रलाई सहकारीकै गोपाल पौडेलले सञ्चालन गरेका थिए । तालिम आगामी बुधबार सम्पन्न हुने बाँके सहकारी प्रशिक्षालयले जनाएको छ । तालिमका केही तस्वीरहरु………….












