बाँके । कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरबासीलको सेवा र सुविधाकालागि नगरपालिकाले नगर प्रहरीलाई दीक्षित गरेको बताएका छन् । आईतबार नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समारोहको दीक्षीत समारोहमा नगर प्रमुख आचार्यले सो कुरा बताएका छन् । ‘हाम्रो जिम्मेवारी नगरबासीलाई सेवा प्रदान गर्ने हो । हरेक क्षेत्रबाट नगरलाई व्यवस्थित गराउने चाहानाले नगरप्रहरीको आवश्यकता महसुस गरेर हामीले नगर प्रहरीलाई दीक्षित गरेका हौं ।’ प्रमुख शर्माले भने ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा सम्पन्न उक्त समारोहमा १९ जना नगर प्रहरीलाई दिक्षित गरिएको छ । सोही समारोहमा नगर प्रमुख आचार्यले नगर प्रहरीलाई छनौट गर्दा कुनैपनि राजनीतिक दलको प्रभावमा नपरेको बताएका छन् । उनले क्षमता र योग्यताको आधारमा कसैप्रति पनि पुर्वाग्रही नभएर नगर प्रहरीलाई छनौट गरेको बताएका छन् । उनले भने,‘हामीले कसैको दबाब र प्रभावमा नपरेर निष्पक्ष रुपमा नगर प्रहरीलाई छनौट गरेका छौं ।’ उनले भने,‘राजनीतिक दबाबको प्रथालाई तोड्नु पनि हाम्रालागि एउटा चुनौति नै थियो । जुन हामीले तोड्न सफल पनि भएका छौं ।’
दीक्षीत समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले नगर प्रहरीलाई कुनैपनि प्रकारको लोभमा नपर्न आग्रह गरेका छन् । उनले कसैको पनि र कुनै पनि प्रलोभनमा परेर नगर प्रहरीले नागरिकलाई दुःख दिएको सूचना आफु कहाँ आएमा जागीरबाट बर्खात गरिने चेतावनी समेत दिएका छन् । उनले भने,‘आज दीक्षित हुुनु भएका सबै नगर प्रहरीहरुलाई क्षमता र योग्यताका आधारमा छनौंट गरेर नगर व्यवस्थापानकालागि जिम्मेवारी दिएका छौं । तपाईँहरुले मध्य कसैलेपनि यदि कुनैपनि प्रकारको लोभ र प्रलोभनमा परेर नगरबासीलाई दुःख दिएको सूचना हामी कहाँ आई पुगेको खण्डमा तपाईँहरुलाई तत्काल जागीरबाट निकालिने छ ।’
कणाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका तालिम संयोजक प्रहरी निरिक्ष यम बहादुर मल्लले आज दीक्षित भएका कोहलपुरका १९ जना नगर प्रहरीहरुलाई तालिम दिएका थिए । ४५ दिने तालिममा ती नगर प्रहरीहरुले निकै नै अनुशासित भएर सहभागिता जनाएको उनले बताए । प्रहरी र नगर प्रहरीलाई तालिम दिने क्रममा कुनै पनि फरक नभएको उनको भनाई छ । आज सम्पन्न उक्त दीक्षित समारोहमा नगर प्रहरीहरुलाई कोहलपुर नगर प्रमुख आचार्य, उपप्रमुख संगीता सुबेदी पौडेल र कणाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतका प्रहरी वरिष्ठ उपरिक्षक चक्र बहादुर सिंहले प्रमाण पत्र प्रदान गरेका थिए ।
दीक्षित समारोहका तस्वीरहरु…..












