बाँके, नेपालगञ्ज । ‘हिंसाको जरा पत्ता लगाउन नसकनु नै हिंसाको अन्त्य नहुनु हो ।’ यो भनाई हो नेपालगञ्ज उपमहानगर पालिका महिला तथा बालबालिका कार्यालय बाँकेका महिला विकास अधिकृत मञ्जु पाण्डेको । शुक्रबार बाँकेमा सञ्चारिका समूहद्धारा आयोजित लैंगिक हिंसाको अवस्था र सरोकारावालाहरुको भूमिका विषयक अन्तरकृयामा अधिकृत पाण्डेले हिंसा भन्ने वित्तिकै हामीले शारीरिक यातना भन्ने बुझ्छौं तर हिंसा शरीरमा लाग्ने चोट मात्र नभएर महिलाको मानसिक रुपमा पुग्ने आघात पनि भएको प्रष्ट पार्दै उक्त कुरा बताएकी हुन् ।
‘हिंसाको वास्तविक जरा अझैं पनि पत्ता लगाउन सकेका छैनौं र त्यो नै समाजबाट साथसाथै व्यक्तिबाट हिंसाको अन्त्य हुन नसक्नुको मुख्य कारण हो ।’ प्रमुख मञ्जु पाण्डे भन्छिन्,‘लैंगिक हिंसाका घटनालाई निमिट्यान्न पार्नकालागि सुक्षम रुपले काम गर्नकालागि मैले बाँकेमा खासै त्यस्तो संघसंस्था भएको पाईन ।’ महिला विकास अधिकृत पाण्डेले महिला हिंसाका विषयमा सम्बन्धित निकायसंग यथेस्त तथ्यांक नभएको खुलासा गरेकी छन् ।
नेपालगञ्ज उपमहानगर पालिकाको दिगो विकास लक्ष्यको लक्ष्य नं. ५ को लक्ष्य अनुसार संकलन गरिएको तथ्यांक अनुसार शरीरिक हिंसा भएका महिलाहरुको तथ्यांक ७.५ प्रतिशत रहेको छ । सरकारी सेवामा महिलाहरुको सहभागिता औपचारीक रुपमा नभएको बताउँदै सहभागीता जम्मा ३० रहेको र यसको संख्या ५० पुर्याउने लक्ष्य रहेको उनले बताईन् । विशेष गरेर महिलाहरुको नाममा संस्थाहरु दर्ता हुने र काम भने पुरुषले गर्नेको संख्या बाँकेमा २५ रहेको उनले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।
७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अधियानका सन्दर्भमा महिला हिंसा तथा लैगिक हिंसा अन्त्य गर्नकालागि महिला विकास अधिकृत पाण्डेले समुदाय स्तरमा छरिएर काम गर्न आवश्यक रहेको बताईन् । हिंसा अन्त्य गर्नका लागि सबैभन्दा ठूलो लगानी लगाएर काम गर्न आवश्यक रहेको उनको सुझाव थियो । कार्यक्रममा कानून व्यवसायि सुनिता शर्माले महिलाका विषयमा एसियाकै उत्कृष्ट कानून नेपालको रहेको बताउँदै उक्त कानूूनहरु कार्यान्वयन हुन नसकेको बताएकी थिईन् ।
नेपालगञ्जमा घटेका सबैभन्दा धेरै आ’त्म’ह’त्याको घटना देखिएको बताउँदै अधिवक्ता शर्माले अदालतमा पुगेर धरौतिमा छुटेका घटनामा आगो बालेर आन्दोलन गर्नुभन्दा वास्तविक रुपमा पिडितलाई हिंसाको बारेमा जानकारी गराउन आवश्यक रहेको उल्लेख गरिन् । बाँकेमा विशेष गरेर यौनजन्य हिंसामा सम्बन्ध विच्छेद गर्नेको संख्यामा बृद्धि भएको उनको भनाई थियो । उनले मध्यम वर्गीय परिवारबाट हिंसा भएका महिलाहरु खुल्न नचाहने तर निम्न वर्गीया परवारबाट घटना सार्वजनिक हुने गरेको प्रष्ट पारिन् ।
कार्यक्रममा सहभागी अभियान नेपालका अध्यक्ष कमला पन्तले लैंगिक हिंसाका स्वरुपहरु परिवर्तन हुँदै समाजमा घटिरहेका छन् । जस्लाई सञ्चार माध्यमहरुले स्थान दिएका छन् । र अझैं महिलाका सवालमा कार्यस्थलमा हुने हिंसा पनि प्रमुख समस्या बन्दै गई रहेको हुनाले त्यस्ता घटनाप्रति पनि सञ्चारकर्मीहरुको ध्यान जान आवश्यक रहेको बताईन् । ‘हामीले काम गर्ने कार्य क्षेत्रहरुमा महिलाहरु विभिन्न बाहानामा हिंसा भई रहेका हुन्छन् । तर त्यसता हिंसाहरु स्वयम महिलाबाटै लुकाईन्छ र त्यसरी लुकाउनमा उनीहरु आफ्नो बाध्यता सम्झन्छन् । यो विषयमा पनि सञ्चारकर्मीहरुले कलम चलाउन आवश्यक छ ।’ उनले भनिन् ।
कानूनका कुुरामा टेकेर र कानूनलाई नै मानेर पिडितका पक्षमा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै अध्यक्ष पन्तले कानूनलाई प्रभावकारी बनाउन सरोकारवालाहरुको आवश्यकता रहेको बताईन् । त्यसैगरी कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले महिला हिंसाका या लैंगिक हिंसाका विषयमा आवाज उठाई रहंदा त्यसले पनि वकालत गर्ने र पिडित दुबैलाई हिंसा पिडित बनाई रहेको कुरामा ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह गरेकी थिईन् ।
मल्लले समस्यालाई मात्र उजागर गर्नुको साटो समाधान गर्नलाई कार्यान्वयनमा जान आवश्यक रहेको बताईन् । उनले भनिन्,‘कतिपय विषयमा हामी सरोकारवालाहरुले पनि पिडितकै पक्षमा बोलि रहेका छौं भन ठान्छौं तर हाम्रा आवाजले कहीले काहीं पिडितलाई थप पिडित बनाई रहेको हुन्छ भने आवाज उठाउनेहरुपनि कुनै न कुनै माध्यमबाट मर्कामा परिरहेका हुन्छौं । हिंसा आफैमा निकै नै संवेदनशिल विषय भएको हुनाले यो विषयमा सबैले विचार गरेर मात्र वकालत गर्न आग्रह गर्दछु ।’
महिलाका विषय महिलाले मात्र उठान गर्नुका साथै पुरुषले पनि उठाउन आवश्यक रहेको बताउँदै इन्सेकका कार्यक्रम अधिकृत मल्लले अन्तर जातिय विभेद र बेचबिखन, बाल विबाह र अभिभावकहरुले बेचेको आरोप लगाएका विषयहरु ईन्सेकमा आउने गरेको बताईन् । उनले पिडकलाई राजनीतिक दलका प्रतिनीधिहरुले समेत संरक्षण गरेको आरोप लगाईन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्द शान्ति ढकालले राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत कानूनमा उल्लेख गरेतापनि सम्पत्तिको कारण देखाउँदै महिलाहरुलाई पदच्युत गर्ने गरेको बताईन् । ढकालले अहिले पनि राजनीति गर्ने महिलाहरुलाई पितृसत्तात्मक सोंचले पछाडि पार्दै विभिन्न रुपमा हिंसा गरिरहेको उल्लेख गरिन् ।
भर्खरै सम्पन्न निर्वाचनको प्रसंगमा उनले गठबन्धनका नाममा महिलाको पद पुरुषलाई दिईएको बताउँदै राजनीति दिल भित्र महिलाहरुलाई काम गर्न सहज नभएको बताईन् । उनले निर्णयमा महिलाहरुको पहुँच अहिले पनि नभएको प्रष्ट पारिन् । सरकारी कार्यालय भित्र महिला सहभागिता कम भएको बताउँदै केन्द्रिय सदस्य ढकालले राजनीति दलभित्र व्यापक मात्रामा महिलाहरुलाई हिंसा भएको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रक्रृषि चौलागाईले महिला पत्रकार महासंघले लैंगिक विषयमा अन्य संस्थाको तुलनामा निकै नै जोड गरेको भएतापनि सञ्चार माध्यमले हिंसाका घटनालाई समेट्न नसकेको बताए । उनले महिला पत्रकारहरुले यदि कसैबाट हिंसा सही रहेका छन् भने त्यस्ता पत्रकार महिलाहरुले खुलेर आफ्ना कुरा राख्न सुझाव दिए ।
मिडियामा आउन आवश्यक नभएका घटनाहरुलाई सञ्चारकर्मीले ध्यान दिएर सम्प्रेषण गर्न उनको सुझाव थियो । पत्रकार चौलागाईँले पत्रकार महिलाहरुलाई अगाडी बढाउन आफुले सकारात्मक भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनहरुमा पत्रकारीतामा महिलाहरुलाई अगाडी बढाउन आफु प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा निल सागर सेवा आश्रमका सञ्चालक सरिता खनालले अपारधिलाई जेलमा पठाउने मात्र हिंसाको अन्त्य नभएको बताउँदै जेलमा जाने वातावरणको अन्त्य गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिईन् । नील सागरमा लैंगिक हिंसाबाट जन्मिएका बालबालिकाहरु रहेको बताउँदै उक्त आश्रममा मनोसामाजिक समस्याले ग्रस्त भएकाहरुको संख्या धेरै भएको खनालले जानकारी दिईन् ।
उनले आश्रममा रहेका ती व्यक्तिहरुले लामो समयदेखि स्वास्थ्य सुधारकालागि औषधी खाईरहेको बताउँदै त्यसरी जन्मिएका बालबालिकाहरुको बाबुलाई कस्लाई खोज्ने ? र मनो सामाजिक समस्याबाट ग्रस्त भएकाहरुले सेवन गरेको औषधीको भरपाई कस्ले गर्ने ? उहाँहरुको जीवनको रक्षा कस्ले गर्ने ? उनले प्रश्न गरिन् । खनालले हिंसा अन्त्यका लागि घरबाट नै नैतिक शिक्षाको चेतना दिन आवश्यक भएको सुझाव दिईन् ।
नेपाल लेखक संघका केन्द्रिय सदस्य रिचा लुईटेलले घटनाका प्रकृति फरक भएको हुनाले त्यसका संवदनशिलतामा ध्यान दिन जरुरी रहेको बताईन् । कार्यक्रममा नेकपा माओबादी केन्द्रका रेनुका खड्काले महिला हिंसाका सवालमा सम्बन्धित निकायका सरोकारवालाहरुले बोल्ने मात्र नभई ग्रामिण स्तरमा गएर समाधान गर्न सबै एकजुट आवश्यक रहेको बताईन् । राजनीतिमा दर्ता हुन आउने सबै मुद्यामा एउटै कुरा समानान्तर हुन्छन् । त्यो हो आर्थिक त्यसैले महिला आर्थिक रुपमा सबल हुन उनले सुझाव दिएकी थिईन् ।
राष्ट्रिय युवा परिषदका सदस्य मिना चदराले राजनीति गरी रहेका महिलाहरुको योगदान भए अनुसारका महिलाले पद नपाएको भन्ने विषयमा आफ्ना धारणालाई फरक तरिकाले प्रस्तुत गरिन् । उनले माओबदी पार्टीले महिलालाई राजनीतिमा स्थान दिएको तर महिलालाई जिताउने अभ्यासमा नलागेको प्रष्ट पारिन् । राजनीति पेशेबर बनेको आरोप लगाउँदै उनले यस्लाई समयमै रोक लगाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्न सुझाव दिईन् । राजनीतिमा महिलालाई हुने अपमान र अवसरबाट बञ्चितका कुरालाई सञ्चारमाध्यामहरुले निपष्पक्ष भएर सम्प्रेषण गर्न सुझाव दिईन् ।
पत्रकार शंकर खनालले महिला तथा बालबालिका एजेण्डामा साझा रुपमा सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गर्ने प्रतिबद्धता जनाउन आवश्यक रहेको बताए । साप्ताहीक रुपमा राष्ट्रिय मिडियामा पनि हिंसाका घटनाहरु छापिने जानकारी दिए । उनले महिला हिंसा तथा लैंगिक हिंसाका घटनाहरु समाचार बनाएर लेख्नुका साथ साथै त्यो समाचारलाई पच्छ्याउन आवश्यक रहेको बताए ।
उनले पत्रकारीतामा आफुले लेखेका महिलाका मुद्याहरुलाई क्रमबद्ध रुपमा अनुभव सुनाएका थिए । त्यसरी सुनाउने क्रममा सुनाउने क्रममा महिला तथा बालबालिकाहरुको मुद्या संवेदनशिल भएको हुनाले सबैले संवेदनशिल भएर सम्प्रेषण गर्न आग्रह गरे । उनले विशेष गरेर महिला तथा बालिबालिकाका घटनाहरु मेलमिलापमा टुगिंने बताए ।
बाँके जिल्ला प्रहरी कार्यालयका महिला सेलका प्रमुख प्रहरी निरिक्षक महेश्वी विष्टले हिंसा केवल पुरुषबाट मात्र नभएर महिला स्वयमबाटै हुने गरेका घटनाहरु महिला सेलमा आउने गरेको उनले बताईन् । महिला सेलमा बालबालिकाहरुको घटना प्राय कम नै आउने गरेको उनको भनाई थियो । उनले महिला हिंसाका घटनामा जघन्य अपराधका घटनाहरु नआएको जनाकारी गराईन् । प्रहरी निरीक्षक विष्टले प्राय घटनाहरु मेलमिलापमा नै केन्द्रित रहने बताईन् ।
सञ्चारिका अध्यक्ष रुपनी जि.एमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाँकेका विभिन्न संघ संस्थामा कार्यरत सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सञ्चारिका बाँके शाखा महासचिव पवित्रा परियारले सञ्चालन गरेकी थिईन् भने सहभागीहरुलाई उपाध्यक्ष सरला सुबेदीद्धारा स्वागत गरिएको थियो । 






