काठमाण्डौ । एमालेसँगको सहकार्य ‘सन्देश’ ले कांग्रेसमा हलचल मच्चिएको छ । गठबन्धनबाट माओबादी केन्द्रले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने र त्यो हुन नसकेको खण्डमा एमालेलगायतका दलसँग सहकार्य गर्न सकिने पनि माओबादीको सन्देश थियो । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् ।
उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि नेताहरुलाई निर्देशन दिएका छन् ।
‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौँ’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हामी गठबन्धन भन्दा दायाँबाया गर्ने स्थितिमा छैनौ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’ शनिबार माओबादीले एमालेसँग सहकार्य गर्नसक्ने भनेर बाहिर मेसेज गएपनि पार्टी त्यो अवस्थामा नपुगिसकेको प्रचण्डले बैठकमा बताएका थिए ।
बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजि नसकेको स्पष्ट पारे । उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि जिकिर गरे । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओबादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, उनले भने, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’
तर, शनिबार प्रवक्ता कृष्णबहादुर महराले वर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको भएपनि सबै विकल्प खुला राख्ने निर्णय भएको बताएका थिए । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भनेका थिए, ‘अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको छ ।’ उनले एमालेसँग पनि सहकार्य गर्न सकिने स्पष्ट संकेत गरेका थिए । तर, माओबादीले यस्तो विकल्प खुला राखेको बताएको २४ घण्टा नबित्दै यूटर्न हुँदै सत्ता गठबन्धन कायमै हुने स्पष्ट गरेको हो ।
महासचिव गुरुङले हिजो विकल्पको विषय बाहिर गएपनि तत्काल यो दिशामा पार्टी नरहेको दोहोर्याइरहे । सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले सोमबार सत्ता गठबन्धनको बैठक बसेर सबै विषयमा छलफल हुने पनि बताए । स्रोतका अनुसार माओबादीले विकल्प खोज्ने कुरा बाहिर ल्याएपछि कांग्रेसभित्र हलचल पैदा भयो । त्यसपछि प्रचण्डलाई कांग्रेसका नेताहरूले बाक्लो सम्पर्क गरेका थिए ।
सभापति शेरबहादुर देउवाले नै यसबारेमा चासो राख्दै माओबादीलाई साथमा लिन नेताहरूलाई अह्राएको बताइएको छ । सोहीअनुसार सोमबारका लागि गठबन्धनको बैठक राखिएको र मिलेर अघि बढ्नका लागि छलफल सुरु गरिने नेताहरूको भनाइ छ । कांग्रेसका नेताहरूको आग्रहकै कारण प्रचण्डले आजको बैठकमा गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गर्दै सोही अनुसार अघि बढ्न नेताहरूलाई निर्देशन दिएको बताइएको छ ।






