बाँके । नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठोरले आफ्नै पार्टीका महामन्त्री गगन थापालाई प्रधानमन्त्री पदकालागि ईच्छा देखाउन नसुहाउने बताएका छन् । प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै नेता राठौरले पार्टीका महामन्त्री गगन थापाद्धारा प्रधानमन्त्रीका लागि आफु योग्य भएको दाबी गर्दै आईरहेको प्रशंगमा थापालाई प्रधानमन्त्रीको दाबी गर्न नसुहाउने बताए ।
प्रधानमन्त्रीको विषयमा तपाईँको विचार के छ ? भनेर पत्रकारहरुले सोधेको प्रश्नमा राठोर भन्छन्,‘म प्रधानमन्त्री बनेर देश चलाउनका लागि योग्यको व्यक्ति हुँ । तर मैले मलाई प्रधानमन्त्री बनाउनै पर्छ भनेर कही कतैपनि भनेको छैन । मैले ४० वर्ष राजनीतिमा खर्चिएको छु । प्रधानमन्त्रीका विषयमा महामन्त्री थापासंग मेरो कुनै तुलना नै छैन । त्यसैले मेरो अगाडी गगन थापाले प्रधानमन्त्रीको दाबी गर्न सुहाउँदैन ।’
प्रधानमन्त्रीकै विषयमा उनले अगाडी भने,‘एउटा कुरा के क्लिएर भए हुन्छ भने, गगन जीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी दिएको हो । उहाँले पहिला पार्टीलाई राम्रो बनाएर देखाउनु पर्यो । अनिमात्र हामीले उहालाई विश्वास गर्ने ठाउँ रहन्छ ।’ भर्खरै सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए ।
उनले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको स्पष्ट पारे । ‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बेला हो । संविधानको रक्षा र प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धन आवश्यक छ ।’ राठौरले भने । देशमा चलिरहेको सशस्त्र द्घन्द्घ अन्त्य गर्ने उदेश्यले शान्ति प्रक्रिया सँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्य लाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत उनले बताए ।
देशको सर्वोपरी हितमा राजनीतिक दलहरुले निर्णय लिनु पर्ने बेला आएको राठौरल बताए । नवनिर्वाचित सांसद राठौरले आफू पद, पावर र पैँसाका लागि राजनीति नगरेको स्पष्ट पार्दै बाँकेको सिक्टा सिँचाई आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए । एमालेका कारण सिक्टा सिँचाई र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दाबी थियो ।
उक्त पत्रकार सम्मेलनमा राठोरले पत्रकारहरुले भोग्न बाध्य भएका विभिन्न समस्याहरुलाई सम्बन्धित निकाय (प्रेस काउन्सिल, सूचना विभाग र महासंघ) ले सम्बोधन गर्नु पर्नेमा जोड दिंदै आफुले ति निकायहरुलाई पत्रकारहरुको हक हीतका निम्ति घचघच्याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले आफुलाई निर्वाचित बनाएकोमा मतदाताहरुलाई विषेश धन्यबाद समेत दिएका थिए ।






