नेपालगन्ज । प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर २ मा राप्रपा एमाले गठबन्धनका उम्मेदवार डा. धवलशम्सेर जंग बहादुर राणा निर्वाचित भएका छन् । जसपाका नेता एवं पुर्वमन्त्री ईस्तियाक राईलाई फराकिलो मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री समेत रहेका राणा ईस्तियाकलाई ६ हजार ५७ मतको फराकिलो अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।
त्यसैगरी प्रदेश सभा बाँके क्षेत्र नम्बर २ (क) र (ख) मा जसपाका उम्मेदवार भारी मतान्तरले निर्वाचित भएका छन् । बुधबार बिहान करीब ४ बजेसम्म भएको मतगणनाको अन्तिम नतिजा अनुसार राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गरेका थिए भने उन निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका केन्द्रिय सचीव तथा पूर्वमन्त्री समेत रहेका मोहम्मद इस्तिक राईले २३ हजार ५ सय २० मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका सुदिप नर्सिङ राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतले सूचना मार्फत जानकारी दिइएको छ । यसैगरी बाँके क्षेत्र नम्बर २ प्रदेश सभा (क) र (ख) दुबैमा जसपाका उम्मेदवार भण्डारी लाल अहिर र आदेश कुमार अग्रवाल भारी मतान्तरले निर्वाचित भएका छन् । प्रदेश सभा (क) बाँके क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारी लाल अहिरले नेकपा एमालेका उम्मेदवार विजय बहादुर यादवलाई २ हजार १ सय ४६ मतान्तरले पराजित गरि निर्वाचित भएका हुन् ।
भण्डारीले ११ हजार ५ सय ४ मत प्राप्त गरेका थिए भने उन निकटतम प्रतिद्वन्दी यादवले ९ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका राज कुमार कुर्मीले ८ हजार ७ सय ३१ मत ल्याइएका छन् । त्यसैगरी प्रदेश सभा (ख) बाँके क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार आदेश कुमार अग्रवालले नेकपा एमाले गठबन्धनका उम्मेदवार निरक बहादुर गुरुङलाई १ हजार ५ सय ३७ मतान्तरले पराजित गरि निर्वाचित भएका छन् ।
अग्रवालले ८ हजार २ सय ४६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी गुरुङले ६ हजार ७ सय ९ मत ल्याइएका हुन् । नेपाली काँग्रेसका सुरेन्द्र बहादुर हमालले ६ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । बाँके क्षेत्र नम्बर २ को मतगणना नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा भईरहेको छ ।
यस्तै नेकपा एमाले बाँकेका सचिव खत्री बाँके ३ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा १३ हजार १५८ मत प्राप्त गरी विजयी भए ।
खत्रीलाई एमाले सहित राप्रपाको पनि समर्थन रहेको छ । राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु ल्गायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लागेका छन् ।






