काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौ ७ बाट पराजित भएपछि मानुषी यामी भट्टराईले निर्वाचनमा उम्मेदवार हुँदै गर्दा आफुले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरेको बताएकी छिन् ।
निर्वाचनमा पराजित भएसँगै उनले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीसहित प्रदेशसभातर्फ निर्वाचित वसन्त मानन्धर र प्रकाश श्रेष्ठलाई बधाई दिँदै उनले निर्वाचनमा हारेपनि आफुले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरेको बताएकी हुन् ।
हारका बाबजुद बटुलेको अनुभवलाई आगामी दिनमा राजनीतिक एवं सामाजिक सेवाको यात्रामा सदुपयोग बताएकी छिन् । हारपछि उनले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया यस्तो छ,
काठमाण्डौ निर्वाचन क्षेत्र नं. ७ का मतदाता—आमाबुवा, दिदीबहिनी, दाजुभाई, युवा मित्रहरू—सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु । यस क्षेत्रबाट प्रतिनिधिसभातर्फ निर्वाचित हुनुभएका रास्वपाका उम्मेदवार गणेश पराजुली, प्रदेशसभातर्फ ७ (१) बाट निर्वाचित हुनुभएका लोकतान्त्रिक(वाम गठबन्धन (नेकपा एस) का वसन्त मानन्धर र ७ (२) बाट निर्वाचित हुनुभएका नेकपा एमालेका प्रकाश श्रेष्ठलाई धेरै बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
निर्वाचन अभियानका दौरान अहोरात्र खट्नुहुने लोकतान्त्रिक वाम गठवन्धनका नेतृत्वगण एवं सबै मित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । मेरो उम्मेदवारीप्रति शुभेच्छा राखी सबै प्रकारको सहयोग गर्नुहुने र सुझाव दिनुहुने सम्पूर्ण शुभेच्छुकहरूप्रति हृदयदेखि कृतज्ञ छु ।
युगीन बाबु लगायत परिवारजन सबैमा धैर्यता र आत्मबलका निम्ति आभार
यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरें । आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गर्दछु । यस दौरान थुप्रै नयाँ साथीहरू, सम्बन्धहरू बने ।
यी सबैलाई आगामी दिनहरूमा पनि जीवन्त रखिरहनेछु । काठमाण्डौ ७ का जनताहरूसँग निरन्तर जोडिएर क्रियाशील रहिरहनेछु । नवनिर्वाचित जनप्रतिनिधिहरूसँग सहकार्यमै रहनेछु । गलत काममा खबरदारी र सही काममा पूर्ण साथ रहनेछ ।
शुभकामना
धन्यबाद






