काठमाण्डौ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन क्षेत्रमा विजयी हासिल गरिसकेको छ । मतगणना भइरहेको क्षेत्र नम्बर ६ मा पनि स्वतन्त्र पार्टीकै अग्रता छ । यसको पनि नतिजा आउँदा काठमाण्डौमा स्वतन्त्र पार्टीको सिट संख्या ४ पुग्नेछ । एमालेले एउटा क्षेत्रमा मात्रै चित्त बुझाएको छ भने कांग्रेसले पहिलेको भन्दा केही सुधार गरेर सिट संख्या ६ पुर्याएको छ ।
अहिले गणना भैरहेको काठमाण्डौ–६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल ११ हजार ६ सय ३८ मतका साथ अगाडि छन् । एमालेका सर्वेन्द्र खनालले ६ हजार ९ सय ६५ र कांग्रेसका भिनसेनदास प्रधानले ६ हजार ७ सय ३७ मतसहित स्वतन्त्र उम्मेदवारलाई पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डौ–२ मा सोविता गौतम, काठमाण्डौ–७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
काठमाण्डौ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत पाएका हुन् । काठमाण्डौ–७ मा गणेश पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका थिए । काठमाण्डौ क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् ।
कांग्रेसबाट काठमाण्डौ–१ मा प्रकाशमान सिंह, काठमाण्डौ–३ मा सन्तोष चालिसे, काठमाण्डौ–४ मा गगनकुमार थापा, काठमाण्डौ–५ मा प्रदिप पौडेल र काठमाण्डौ–१० राजेन्द्र केसी विजयी भए । काठमाण्डौ–१ मा राप्रपाका रविन्द्र मिश्र प्रकाशमान सिंहसँग झिनो अन्तरले पराजित भए । यस्तै, क्षेत्र नम्बर–३ मा एमालेका कृष्णबहादुर राई कांग्रेसका चालिसेसँग पराजित भए । काठमाण्डौ–४ मा गगन थापाले एमालेका राजन भट्टराई हराएका थिए ।
क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए । काठमाण्डौ १० मा कांग्रेसका राजेन्द्र केसीले एमालेका हिमेश केसीलाई हराए । काठमाण्डौ–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । एमालेले काठमाण्डौमा यही एउटा सिटमा चित्त बुझाउनु पर्ने भएको छ । एमालेले २०७४ सालमा काठमाण्डौका ६ वटा क्षेत्रमा जितेको थियो । यसपालि काठमाण्डौमा एमाले एक क्षेत्रमा झरेको छ ।
२०७४ मा चारवटा क्षेत्र जितेको कांग्रेसले दुई सिट थपेको छ । माओवादीका उम्मेदवारले भने काठमाण्डौमा दोस्रो स्थान पनि हासिल गर्न सकेनन् ।काठमाण्डौमा माओवादीबाट पाँचजना उम्मेदवार थिए । क्षेत्र नम्बर २ बाट ओनसरी घर्ती, क्षेत्र नम्बर ९ बाट कल्पना धमला, क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराई, क्षेत्र नम्बर १० बाट अन्जना विशंखे र क्षेत्र नम्बर ३ बाट बद्रि बजगाईँ आआफ्ना प्रतिस्पर्धीभन्दा निकै कम मतमा चित्त बुझाउन बाध्य भएका छन् । उज्यालो






