बाँके । बाँके २ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट २९ हजार पाँच सय ७७ मत ल्याएर राणा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिस्पर्धी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् ।
नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भएका छन् । त्यस्तै बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । जनता समाजबादी पार्टी (जसपा) नेपालका यादवले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् ।
उनी दुई हजार दुई सय मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् ।
त्यस्तै बाँके २ (२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भएका छन् । उनी आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका निरक गुरुङ र कांग्रेसका सुरेन्द्रबहादुर हमाललाई हराउँदै विजयी भएका हुन् । गुरुङले ६ हजार ७ सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार २ सय ४६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।






