काठमाण्डौ । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाण्डौ ४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ ।
निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् ।अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए ।
यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो । गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् । गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए । अघिल्लो पटक पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए ।






