काठमाण्डौ । गएको आइतबार भएको प्रतिनिधि सभा चुनावमा १ सय २५ मतले पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुःखी भएको बताएका छन् । तर आफू समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा मतदालालाई आभार व्यक्त गर्दै उनले गएको पाँच वर्षको आफ्नो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि अहिले आफूले पाएको मतलाई टुट्न नदिने बताएका छन् ।
उनले लेखेका छन्ः,‘झुठ बोलेर मत माग्दिनँ’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु । म त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ । यस पटक काठमाण्डौ क्षेत्र नं १ मा ‘चुनावी सङ्ग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासङ्ग्राम’ थियो ।
उनले आफू कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्ने व्यक्ति भएको पनि उल्लेख गर्नु भएको छ । उनलेका छन्,‘म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु ।
राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ । म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन ।’






