काठमाण्डौ । निर्वाचन आयोगले नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले थापालाई मीनबहादुर बुढा मगर (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिएको विषयमा पुनहः स्पष्टिकरण सोधेको हो । आफ्नो चुनाव प्रचारप्रसार गराएको भन्ने समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएकोले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।
‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन रु तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ ।
आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न थापालाई निर्देशन दिएको छ । केही दिनअघि प्युठानमा भएको एक कार्यक्रममा मीनबहादुर बुढाले एमाले उम्मेदवार थापाले आफूलाई दुई हजार रुपैयाँ दिएर चुनाव प्रचार गर्न लगाएको भनेर एक युटुवरसंगको कुराकानीमा भनेका छन् ।
उनले भनेका छन्,‘मलाई बोलाए र २ हजार रुपैंया हातमा थमाए अनि सुर्य चिन्ह्मा भोट हाल्नु है भने । अनि क्मेरामा पनि सुर्य चिन्ह्मा सबैले भोट हाल्नु होला भनेर बोल्न लगाए । बोल्नु पर्यो भनेपछि मैले बोलेकै हो । तर म त ज्यान गएपनि सुर्यलाई भोट त हाल्दिन ।’ उनले उक्त यूट्यूवसंग कुराकानी गर्ने क्रममा अगाडी भनेका छन्,‘म त अब पहिलाको जस्तो भेलु बाजे छैन नि । मलाई लाटो सोंचेका होलान् सबैले म त बाठो भई सकें । भोट पनि कसैले पैसा दिएर यस्मा हाल्नुु्स् है भनेपछि हाल्ने हो र ? आफुलाई जेमा हाल्न मन लाग्छ त्यसैमा हालिन्छ ।’ तस्बिरः थापाको फेसबुकबाट






